काठमाडौं – छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारीले भयंकर रूप दिएका बेला नेपालमा सेना परिचालन गर्नुपर्ने सुझाव आएको छ ।
नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकाले तत्काल सीमा नाका बन्द गर्नुपर्ने सुझाव दिए ।
राजधानी काठमाडौंमा आयोजित साक्षात्कारमा डा. दिक्षितले भने, ‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसीयू बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन । अहिले जटिल अवस्थामा पुगेकाले हामीले के गर्ने भन्ने कुरा निर्क्यौल गर्नुपर्छ । सीमा नाकाहरू तुरुन्तै बन्द गर्नुपर्छ र सीमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ, कडाइ गर्नुपर्छ ।’
आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था पनि प्रभावकारी रूपमा गर्नुपर्ने डा. दिक्षितले बताए । जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै दिक्षितले भने, ‘अहिले जात्रा र पर्व मनाउने बेला होइन । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुबै कुरालाई मिलाएर जानुपर्छ ।’
अहिले नागरिकले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि उनले बताए । ‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ तर हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं । जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ । तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरूले पनि लापरवाही गर्नु हुँदैन,’ उनले भने ।
नेपालका राजनीतिक दल र नेताहरूलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदै पनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप डा. दिक्षितले लगाए । ‘नेताहरूले अहिले तिमी जनता मरे मर तर हामीलाई माथि पुर्याइदेउ भन्ने मात्रै ध्यान छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।