काठमाडौं – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेता भीम रावलतर्फ संकेत गर्दै एमालेभन्दा टाढा रहेका नेताहरुलाई आत्मालोचना गरेर पार्टीमै फर्किन आह्वान गरेका छन् ।
राष्ट्रिय युवासंघ नेपालको कैलाली जिल्ला कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रममा भट्टले आत्मालोचना गरेर फर्किन आग्रह गर्दै फागुन २८ गते गरिएको निर्णय परिवर्तन नहुने दाबी गरे ।
‘आउने भए आत्मालोचना गरेर आउनुहोस् तर फागुन २८ गते गरिएको निर्णय परिवर्तन हुँदैन,’ नेता भट्टले भने । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर नयाँ आन्दोलनको प्रारम्भ गरेको समेत भट्टले बताएका छन् ।
‘हामीले प्रधानमन्त्रीसँग मिलेर वैचारिक आन्दोलन प्रारम्भ गरेका छौं,’ भट्टले भने ‘हामी अब देशलाई समृद्धिको बाटोमा लगिरहेका छौं ।’
ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै भट्टले त्यसको तयारीमा लाग्न पनि निर्देशन दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज महेश बस्नेतले भीम रावल हराएको सूचना जारी गरे । ‘मैले यहाँ भीम रावललाई देखेको छैन,’ बस्नेतले भने, ‘भीम रावल हराएको सूचना जारी गर्दछु ।’
रावललाई बस्नेतले पटक–पटक अवसर पाएपछि सरकारको समर्थन गर्ने र अवसर नपाउँदा सरकारको विरोध गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
रावल एमालेको संसदीय दलको बैठकमा समेत नगएको भन्दै बस्नेतले अहिले पनि रावलले पार्टी विरोधी गतिविधि गरिरहेको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा अवरोध सिर्जना गरेको भन्दै रावललाई एमालेमा फर्किन कठिनाइ भइरहेको बस्नेतले बताएका छन् ।
‘सच्चिएर आए रावललाई नेता मान्न सकिन्छ, नत्र बुढेसकालमा पछुताउनुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष बचनबहादुर सिंहले संगठन र पार्टीभित्र गुटबन्दी कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।