काठमाडौं - प्रदेश १ को इलाम आफैंमा चर्चित जिल्ला हो । यसका खासखास विशेषता छन् । विगतमा तीन निर्वाचन क्षेत्र रहँदै आएको इलाममा अहिले दुईवटा निर्वाचन क्षेत्रमात्रै छ ।
ती दुवै क्षेत्रमा तत्कालीन एमालेका झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ विजयी भयो । कांग्रेस उम्मेदवार पराजित बन्न पुगे ।
विगतमा तीन निर्वाचन क्षेत्र हुँदा कांग्रेसले एउटा सिट जित्ने गरेको थियो । तर, अहिले अराजनीतिक चरित्र बोकेका व्यक्तिको हातमा इलाम कांग्रेसको नेतृत्व पुगेपछि संगठन मृतप्रायः बनेको छ । इलाम कांग्रेस सभापतिमा हिमालय कर्माचार्य छन् । उनी जिल्लामा खासै बस्दैनन् ।
उनी काठमाडौंमा व्यापार व्यवसाय सञ्चालन गरेर बसेका छन् । निर्वाचन आएका बेला टिकट हात पार्न र आफू निकटलाई टिकट दिलाउन काठमाडौं–इलाम दौडधूप गर्छन् । अरु समय व्यापारमै मस्त हुन्छन् ।
जिल्ला पार्टी सभापति बनेपछि कर्माचार्यले संगठन विस्तारभन्दा पनि ध्वस्त गर्नमै आफ्नो साह्रा बलबुत्ता प्रयोग गरेको आजीवन कांग्रेस राजनीतिमा जीवन निर्वाह गरेका नेता कार्यकर्ताको दुःखेसो छ ।
‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बनाउन दिँदैन’ भन्ने लोकोक्ति इलाम कांग्रेसको हकमा ठ्याम्मै मिलेको छ । कार्यकर्ताका अनुसार सभापति कर्माचार्यले आफूखुसी आमन्त्रित सदस्य संख्या तोक्ने र वितरण गर्दै आएका छन् । जिल्लामा तरुण दल र नेपाल विद्यार्थी संघ मृत अवस्थामा छन् । भ्रातृ संघसंगठनलाई चलायमान गराउन उनले चासो नै देखाएका छैनन् ।
शिक्षक संघलाई त उनले गन्दै गन्दैनन् । शिक्षक संघ भनेको पार्टीको बौद्धिक संगठन र तल्लो तहसम्म पार्टीको संगठन चलायनमान बनाउँछ भन्ने कर्माचार्यलाई ज्ञान नै छैन ।
कर्माचार्यले आफूनिकट ४५ जनालाई आमन्त्रित सदस्य नियुक्त गरेका छन् । पुराना र वर्षाैंदेखि काम गरेकालाई उनले समेट्न नसकेको गुनासो पार्टीको केन्द्रीय कार्यालयमा पुगेको बताइएको छ ।
केन्द्रले वडास्तरमा वितरण गर्न भनेको क्रियाशील सदस्यता वितरणमा पनि उनले मनोमानी गरेको नाम उल्लेख नगर्ने सर्तमा एक कांग्रेस जिल्ला सदस्यले मिडियाडबलीलाई बताए । काठमाडौंमा व्यापार व्यवसाय गर्ने भएकाले उनलाई पार्टी संगठनको खासै चिन्ता देखिन्न । जसले गर्दा इलाममा कांग्रेसको संगठन कोमामा पुगेको ठहर नयाँ पुस्ताका नेता कार्यकर्ताको छ ।
पार्टी नेतृत्वको तालाचाबी आफ्नै हातमा लिएर कर्माचार्य चुनावैपिच्छे उठ्दै आएका छन् । उनी दुईपटक मेयर र एकपटक सभासद्मा उठेका थिए । तर, पराजय बेहोरे । हरेक चुनावमा उनले टिकट छान्ने र सके आफूले लिने त्यसपछि आफ्ना आसेपासे जुनियर केटाहरूलाई टिकट दिलाउँदै आएका छन् ।
इलाम छाडिसकेका तथा काठमाडौं र झापामा व्यापार व्यवसाय गर्नेलाई उनले आमन्त्रित स्थायी सदस्य बनाउने गरेका छन् । जसका कारण सिनियर नेताहरुको मनोबल गिरेको छ ।
कर्माचार्य पार्टीमा अरुले गरेको राम्रो काम देखिसहन्नन् । अरुले राम्रो संगठन गरे आफ्नो हैसियत गुम्ने चिन्ताले पनि कर्माचार्यले कांग्रेसको संगठनमा ध्यान नदिएको आमकार्यकर्ताको गुनासो छ ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नै पार्टीका नेता कार्यकर्ताको हुमर्त लिँदै आएका छन् । उनका फेसबुक स्टाटसले जिल्लामा कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।
हिजोआज उनले लामो समयदेखि कांग्रेसको राजनीति गरेकालाई जाँड खाने, चिनी खाने जस्ता शब्द सामाजिक सञ्जाल फेसबुकमा लेख्ने गरेपछि उनलाई साथ दिँदै आएका नेता कार्यकर्ता पनि चिढिएका छन् ।
उनीहरू कर्माचार्यले इलाम कांग्रेसलाई ‘कोमामा पुर्याउन उद्यत’ भएको ठहर गरेका छन् । कर्माचार्य नेपाली कांग्रेसमा प्रकाशमान सिंह निकट मानिन्छन् । काठमाडौंमा व्यापार गर्दागर्दै उनले चाक्सीबारीसँग सम्बन्ध विस्तार गरेपछि इलामको पार्टी सभापति बन्न सफल भएका हुन् ।
कांग्रेसका अन्य जिल्ला संगठनको तुलनामा इलाममा संगठन विस्तार मृतप्रायः अवस्थामा पुगेको देखिएको छ । जिल्लाभरि वितरण गर्नुपर्ने ५० प्रतिशत सक्रिय सदस्यतामध्ये ५/५ प्रतिशत कट्टी गरी अनावश्यक र आफू निकटकालाई कर्माचार्यले वितरण गरेपछि जिल्लामा विरोध सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।