आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा : ओली–प्रचण्ड–लामिछानेसहित शीर्ष नेताहरू आउँदै

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा : ओली–प्रचण्ड–लामिछानेसहित शीर्ष नेताहरू आउँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०८३

  • 1.1K
    SHARES

  • कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा : ओली–प्रचण्ड–लामिछानेसहित शीर्ष नेताहरू आउँदै
    फाइल तस्बिर

    काठमाडौं - प्राकृतिक प्रकोपका कारण दुई दिनपछि सरेको नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।

    महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक एवं कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढिरहेको छ। देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भएको उनले जानकारी दिए।

    महाधिवेशन तयारीका लागि गठन गरिएका १५ वटा समितिले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्। उद्घाटनस्थल खुलामञ्चमा मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ भने बन्द सत्र सञ्चालनका लागि छुट्टाछुट्टै हलहरूको तयारी भइरहेको छ। कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने कांग्रेसले जनाएको छ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार पन्ध्रौँ महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको पार्टीले जनाएको छ।

    प्रतिनिधिहरूले असोज १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रियामा सहभागिता जनाउनेछन्। निर्वाचनको विस्तृत कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको छ।

    महाधिवेशन प्रतिनिधिहरूको आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ। आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका प्रतिनिधिहरूको बसोबास व्यवस्थापन तथा समन्वय गर्ने व्यवस्था मिलाएको छ।

    आवास तथा कार्यक्रमस्थलसम्मको आवतजावत खर्च सहभागी स्वयंले बेहोर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिहरूले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत प्राप्त गर्नेछन्। बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भने भृकुटीमण्डपमा गरिएको छ।

    हालैका प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै महाधिवेशनमा प्रचारप्रसारका नाममा तामझाम नगर्ने निर्णय कांग्रेसले गरेको छ। कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक शहर तथा बजार क्षेत्रमा अन्य प्रचार सामग्री नराखिने पार्टीले जनाएको छ।

    असोज १५ गतेदेखि काठमाडौं उपत्यकासहित देशका प्रमुख शहर तथा बजारमा रहेका करिब १०० डिजिटल बोर्डमार्फत पन्ध्रौँ महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न सुरु गरिएको छ। महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूलाई समेत प्रचारप्रसारका लागि डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टीले आग्रह गरेको छ।

    महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने निश्चित भएको छ।

    त्यसैगरी श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ।

    अन्तर्राष्ट्रिय अतिथितर्फ सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता सुनिश्चित गर्ने प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।

    महाधिवेशनका गतिविधि तथा तयारीबारे सञ्चारमाध्यमलाई नियमित जानकारी गराउन कांग्रेसले अब हरेक दिन पत्रकार सम्मेलन गर्ने भएको छ। प्रवक्ता चालिसेका अनुसार भोलिदेखि कार्यक्रमस्थलमै स्थापना हुने मिडिया सेन्टरबाट दैनिक पत्रकार सम्मेलन आयोजना गरिनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०८३०३:३०:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend