काठमाडौं - नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटीले १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेसँगै पार्टीभित्र युवा पुस्तामा उत्साह देखिएको छ। पत्रकारिताबाट राजनीतिमा आएका शिवाकोटीले संगठन सुदृढीकरण, पार्टी रूपान्तरण र नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने एजेन्डासहित सहमहामन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गर्न लागेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएसँगै शिवाकोटीले सहमहामन्त्री पदका लागि उम्मेदवारी तयारी तीव्र बनाएका छन्। पार्टीको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी गत पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट समेत केन्द्रीय सदस्य चयन भएका थिए।
शिवाकोटीले सहमहामन्त्री पदमा आफ्नो दावेदारीलाई स्वाभाविक भएको बताएका छन्। राजनीतिलाई गतिशील बनाउन व्यक्ति र नेतृत्वको वृत्ति विकास पनि आवश्यक हुने भन्दै उनले अब थप जिम्मेवारी लिएर पार्टी र जनताको सेवा गर्ने इच्छा रहेको बताएका छन्।
पत्रकारिताबाट राजनीतिसम्मको यात्रा
पूर्णकालीन राजनीतिमा आउनुअघि शिवाकोटी दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय थिए। खोजमूलक तथा निर्भीक पत्रकारका रूपमा उनले भ्रष्टाचार, अनियमितता, सुशासन र सार्वजनिक सरोकारका विषयमा निरन्तर कलम चलाएका थिए।
उनले तत्कालीन सभामुख कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएका चर्चित प्रकरणबारे समाचार प्रकाशन गरेर राष्ट्रिय चर्चासमेत पाएका थिए। विशेषगरी बाँस्कोटासँग जोडिएको ७० करोड रुपैयाँको प्रकरणसम्बन्धी रिपोर्टिङले त्यतिबेला नेपाली राजनीतिमा ठूलो बहस सिर्जना गरेको थियो।
शिवाकोटी हाम्राकुरा डटकमका संस्थापक निर्देशक तथा संस्थापक प्रधानसम्पादकसमेत हुन्। करिब १२ वर्ष उक्त जिम्मेवारीमा रहँदा उनले भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध निरन्तर रिपोर्टिङ गरेका थिए। रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान, इमेज एफएमलगायत सञ्चारमाध्यममा समेत उनले काम गरेका थिए।
२०६२/६३ को जनआन्दोलनदेखि विभिन्न लोकतान्त्रिक तथा सामाजिक आन्दोलनमा पत्रकारका रूपमा सक्रिय रहेका शिवाकोटी प्रेस स्वतन्त्रता र लोकतन्त्रका पक्षमा स्पष्ट रूपमा उभिने पत्रकारका रूपमा परिचित थिए।
उनको पत्रकारिता योगदानका लागि नेपाल सरकारबाट प्रबल जनसेवाश्रीबाट विभूषित हुनुका साथै ईन्जा अवार्ड, रोटरी जर्नो अवार्ड, देशतीर्थ पत्रकारिता पुरस्कारलगायत विभिन्न सम्मान प्राप्त गरेका छन्।
प्रेस युनियन हुँदै कांग्रेसको मूलधारमा
नेपाल प्रेस युनियनको महासचिव बनेपछि शिवाकोटी कांग्रेसको मूलधारको राजनीतिमा थप सक्रिय भएका थिए। पत्रकारिताबाट उठाउँदै आएका सुशासन, लोकतन्त्र र भ्रष्टाचारविरुद्धका मुद्दालाई अब राजनीतिको मूलधारबाटै अघि बढाउने उद्देश्यसहित उनी पूर्णकालीन राजनीतिमा प्रवेश गरेका हुन्।
२०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनको राजनीतिक सक्रियता थप बढेको थियो। केन्द्रीय सदस्यका रूपमा उनले पार्टी संगठन, प्रशिक्षण तथा निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गरे।
२०७९ को स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा उनी विभिन्न जिल्लामा पुगेर कांग्रेसको पक्षमा प्रचारप्रसार तथा प्रशिक्षणमा सहभागी भएका थिए। कांग्रेसलाई निर्वाचनमा जिताउन संगठनलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीको इतिहास, नीति र लोकतान्त्रिक भूमिकाबारे जनतामाझ धारणा राख्दै आएका थिए।
पार्टी रूपान्तरणको पक्षमा निरन्तर आवाज
शिवाकोटी कांग्रेसभित्र नेतृत्वलाई प्रश्न गर्ने र पार्टीले बाटो बिराउँदा खबरदारी गर्ने युवा नेताका रूपमा समेत परिचित छन्। कांग्रेसलाई परम्परागत सहारा खोज्नेभन्दा आफ्नै संगठन, विचार र नीतिका आधारमा उभिन सक्ने पार्टी बनाउनुपर्ने उनको धारणा छ।
पार्टीको नेतृत्व र कार्यशैलीप्रति असहमति हुँदा उनले सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै आएका छन्। पार्टीलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने, युवालाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनुपर्ने तथा नयाँ पुस्ताको भावना बुझ्नुपर्नेमा उनले निरन्तर जोड दिँदै आएका छन्।
विशेषगरी जेन–जी पुस्ताको राजनीतिक तथा सामाजिक भावनालाई कांग्रेसले गम्भीर रूपमा बुझ्नुपर्ने उनको धारणा छ। नयाँ पुस्तासँग संवाद बढाउँदै उनीहरूका अपेक्षा र असन्तुष्टिलाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्नेमा उनले पार्टी नेतृत्वलाई खबरदारी गर्दै आएका छन्।
उनको राजनीतिक शैलीमा स्पष्ट वक्ता र प्रश्न उठाउने नेताको छवि देखिन्छ। सरकारको कार्यशैली होस् वा पार्टीभित्रका कमजोरी, उनले आफूलाई लागेको विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।
पुस्तकालयदेखि पार्टी इतिहास संरक्षणसम्म
कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुखका रूपमा समेत शिवाकोटीले काम गरेका थिए। पार्टीको लामो राजनीतिक इतिहासलाई सुरक्षित राख्न दस्तावेज तथा पुस्तकको संरक्षण आवश्यक रहेको भन्दै उनले पुस्तकालयमा महत्वपूर्ण सामग्री संकलन र अध्ययनको वातावरण निर्माण गर्ने प्रयास गरेका थिए। उनले विभागलाई थप सक्रिय बनाउन सदस्य विस्तार तथा विभिन्न फोरम सञ्चालनसमेत गरेका थिए।
पार्टी कार्यालयमा भएको आगलागीका क्रममा महत्वपूर्ण पुस्तक, दस्तावेज तथा ऐतिहासिक सामग्रीमा क्षति पुगेपछि त्यसले आफूले अघि बढाएको अभियानमा ठूलो असर पारेको उनले बताउँदै आएका छन्।
यद्यपि कांग्रेसका प्रजातन्त्र सेनानीहरूको योगदान दस्तावेजीकरण गर्ने उनको अभियान रोकिएको छैन। आफ्ना हजुरबुबा तथा प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको संघर्षलाई पुस्तकमार्फत सार्वजनिक गरेका उनले अन्य सेनानीहरूको योगदानसमेत समेट्ने उद्देश्यले ‘नन्दप्रसाद जानुका फाउन्डेसन’ स्थापना गरेका छन्।
फाउन्डेसनले हालसम्म तीनवटा पुस्तक सार्वजनिक गरिसकेको छ। पछिल्लो समय ‘दोलखाका लोकनायकहरू’ पुस्तकसमेत सार्वजनिक गरिएको छ।
राजनीतिक विरासत र सामाजिक सक्रियता
शिवाकोटीको राजनीतिक यात्रामा पारिवारिक पृष्ठभूमिको प्रभावसमेत देखिन्छ। उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटी नेपाली कांग्रेससँग आबद्ध प्रजातन्त्र सेनानी थिए।
शिक्षालाई प्राथमिकता दिने उनको सोच र सामाजिक योगदानलाई शिवाकोटीले आफ्नो राजनीतिक संस्कारको आधारका रूपमा लिँदै आएका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा रुचि राख्दै आएका उनी पत्रकारिताका क्रममा समेत लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका पक्षमा सक्रिय थिए।
राजनीतिसँगै उनी सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन्। २०७९ सालमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेका उनले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्पपीडितका लागि ५० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेका थिए। उक्त अभियानमा उनी स्वयं करिब १० दिन प्रभावित क्षेत्रमा खटिएका थिए।
युवालाई कांग्रेससँग जोड्ने एजेन्डा
शिवाकोटीले कांग्रेसको भविष्य नयाँ पुस्तालाई पार्टीसँग जोड्न सक्ने क्षमतामा निर्भर रहने बताउँदै आएका छन्। युवाको ऊर्जा, प्रविधि र नयाँ सोचलाई पार्टीको संगठन तथा नीतिनिर्माणमा प्रयोग गर्नुपर्ने उनको जोड छ।
कांग्रेसलाई सधैँ अरूको सहारामा चल्ने पार्टी नभई आफ्नै विचार, संगठन र जनाधारमा उभिन सक्ने पार्टी बनाउनुपर्ने उनको धारणा छ। पार्टीको ऐतिहासिक विरासतलाई जोगाउँदै बदलिँदो समय र नयाँ पुस्ताको अपेक्षाअनुसार कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने उनी बताउँछन्।
दोलखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भइसकेका शिवाकोटी अब १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।
पत्रकारितामा लामो अनुभव, पार्टी संगठनमा सक्रियता, स्पष्ट राजनीतिक धारणा र युवा पुस्तासँगको सम्बन्धलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।
सहमहामन्त्रीमा उनको उम्मेदवारीले कांग्रेसभित्र युवा नेतृत्वको बहसलाई थप अगाडि ल्याउने देखिएको छ। विशेषगरी पार्टीलाई नयाँ पुस्तासँग जोड्ने, संगठनलाई चलायमान बनाउने र कांग्रेसको राजनीतिक सन्देशलाई बदलिँदो पुस्तामाझ प्रभावकारी रूपमा पुर्याउने विषयमा शिवाकोटीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।