काठमाडौं - फ्लाईदुबईको उडान एफजेड १०७३ मा चक्कु प्रहारबाट गम्भीर घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलेको एक यात्रुले बताएका छन्। उनको यही कदमले यात्रु तथा चालक दलका सदस्यलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग पुगेको बताइएको छ।
इजरायली यात्रु यानिभ हयुनले बुधबार बेन गुरियन विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुराकानी गर्दै क्याप्टेन मच्छरले घटनाका क्रममा देखाएको साहसबारे जानकारी दिएका हुन्।
हयुनका अनुसार ककपिटको ढोका खुले पनि मच्छर ढोकाको निकै नजिक रहेकाले त्यसलाई खोल्न कठिन भएको थियो। उनका अनुसार मच्छरले आफ्नो सुझबुझ प्रयोग गर्दै ढोका खोले र त्यसपछि बेहोस भए।
“मेरो निष्कर्षमा उहाँले आफ्नो सुझबुझ प्रयोग गर्दै हाम्रा लागि ढोका खोल्नुभयो र त्यसपछि बेहोस हुनुभयो,” हयुनले नेतन्याहूसँग भनेका थिए।
नेतन्याहूले पनि पछि सामाजिक सञ्जाल एक्समार्फत क्याप्टेन मच्छरको बहादुरीको प्रशंसा गरेका थिए। उनका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भए पनि मच्छरले आक्रमणकारीको सामना गर्दै ककपिटको ढोका खोलेका थिए। त्यसपछि यात्रु तथा चालक दलका सदस्यलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहज भएको थियो।
नेतन्याहूले मच्छरको उक्त कदमले आकाशमै हुन सक्ने ठूलो दुर्घटना रोक्न सहयोग गरेको बताएका छन्। उनका अनुसार घटनामा इजरायली नागरिकसहित विभिन्न देशका १७४ जनाको ज्यान जोगिएको थियो।
मोदीले भने– ‘क्याप्टेन स्मित मच्छर हिरो हुन्’
क्याप्टेन मच्छरको बहादुरीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रशंसा गरेका छन्।
मोदीले बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत मच्छरले अत्यन्त जोखिमपूर्ण अवस्थामा समेत देखाएको साहसका कारण ठूलो घटना हुनबाट रोक्न सहयोग पुगेको बताएका हुन्।
“क्याप्टेन स्मित मच्छर हिरो हुन्। सबैभन्दा ठूलो जोखिमका बीच र गम्भीर रूपमा घाइते हुँदासमेत उनले अरूको ज्यान बचाउन ठूलो साहस र दृढ इच्छाशक्ति देखाए,” मोदीले लेखेका छन्।
मोदीले मच्छरको साहसका कारण सयौँ मानिसको ज्यान जोगाउन तथा ठूलो घटना हुनबाट रोक्न सहयोग पुगेको उल्लेख गरेका छन्। “भारतलाई क्याप्टेन मच्छरप्रति गर्व छ। उनको शीघ्र स्वास्थ्यलाभ, नयाँ ऊर्जा र राम्रो स्वास्थ्यका लागि प्रार्थना गर्छु,” मोदीले भनेका छन्।
होस हुनुअघि ककपिटको ढोका खोले
घटनापछि सामाजिक सञ्जालमा क्याप्टेन मच्छरको भूमिकाबारे विभिन्न विवरण सार्वजनिक भएका छन्। इरानकी एक महिलाले आफ्ना श्रीमान् पनि पाइलट रहेको उल्लेख गर्दै ककपिटभित्रबाट ढोका अनलक गर्न सकिने स्विच हुने बताएकी छन्।
उनले सम्भवतः मच्छरले सहयोगका लागि आवाज मात्र नलगाई बेहोस हुनुअघि ककपिटको ढोका खोल्ने स्विचसमेत दबाएको हुन सक्ने उल्लेख गरेकी छन्। यस्तो नगरेको भए ककपिटभित्र प्रवेश गरेर विमानको नियन्त्रण लिन सहयोग गर्न कठिन हुने उनको भनाइ छ।
इजरायली सञ्चारमाध्यमका अनुसार केही यात्रुले घाइते मच्छरलाई विमानभित्रै प्राथमिक उपचारसमेत दिएका थिए।
उनीहरूमध्ये इजरायली दन्त चिकित्सक शोता मुसायेभ पनि थिए। मुसायेभका अनुसार मच्छरको टाउको र हातबाट धेरै रगत बगेको थियो। उनले रक्तस्राव रोक्न सहयोग गरेका थिए।
विमानले साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गरेपछि मच्छरलाई त्यहाँको एक अस्पतालमा भर्ना गरिएको थियो। मुसायेभका अनुसार विमान अवतरण गर्ने क्रममा मच्छरको अवस्था केही बिग्रिएको थियो। त्यसअघि भने उनको अवस्था स्थिर थियो।
अनुभवी पाइलट हुन् मच्छर
क्याप्टेन स्मित मच्छर अनुभवी पाइलट रहेको विवरण सार्वजनिक भएको छ। उनको लिंक्डइन प्रोफाइलअनुसार फ्लाईदुबईमा आबद्ध हुनुअघि उनले भारतीय एयरलाइन्स स्पाइसजेटमा एक दशकभन्दा बढी समय काम गरेका थिए।
स्पाइसजेटमा उनले प्रशिक्षण क्याप्टेनका रूपमा काम गर्नुका साथै नयाँ पाइलटलाई प्रशिक्षण र मार्गदर्शनसमेत दिँदै आएका थिए।
उनको प्रोफाइलमा उल्लेख भएअनुसार उनले बोइङ ७३७–८०० तथा ७३७ म्याक्स ८ र ९ विमानमा करिब ९ हजार ७५० घण्टा उडान अनुभव हासिल गरेका छन्।
साउदी अस्पतालमा उपचाररत, अवस्था स्थिर
साउदी अरबस्थित भारतीय दूतावासले क्याप्टेन मच्छरलाई उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित एक अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाएको छ।
दूतावासले उनको स्वास्थ्य अवस्थाबारे पूर्ण विवरण प्राप्त नभए पनि प्राप्त जानकारीअनुसार उनको अवस्था स्थिर रहेको जनाएको छ। दूतावासका अधिकारीहरू मच्छरको परिवारसँग सम्पर्कमा रहेको बताइएको छ।
ट्रम्पले पनि भने– ‘हिरो’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन मच्छरको बहादुरीको प्रशंसा गर्दै उनलाई ‘हिरो’ बताएका छन्।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सहपाइलटले मच्छरमाथि चक्कु प्रहार गरेपछि पनि उनले ककपिटको ढोका खोलेर सहयोगका लागि संकेत गर्न सफल भएको बताएका थिए।
ट्रम्पका अनुसार त्यसपछि एक इजरायली यात्रुले ककपिटमा प्रवेश गरी सहपाइलटलाई नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका खेलेका थिए। अन्य यात्रुहरूले समेत उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।
ट्रम्पले ती यात्रु पेसाले प्लम्बर रहेको र विमानसम्बन्धी टेलिभिजन कार्यक्रमहरू हेरेको अनुभवका आधारमा केही आधारभूत जानकारी प्रयोग गरेको बताएका थिए।
त्यसपछि विमानमा रहेका अन्य पाइलट तथा सुरक्षा कर्मचारी ककपिटमा पुगेपछि विमानको नियन्त्रण सम्हालिएको ट्रम्पको भनाइ थियो।
यद्यपि, ट्रम्पले आफूले प्राप्त गरेको जानकारीका आधारमा मात्र घटना विवरण सुनाइरहेको र ती सबै तथ्य स्वतन्त्र रूपमा पुष्टि नगरिएको स्पष्ट पारेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।