काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका कारण २०७६ चैत महिनादेखि बन्द रहेका सबै विद्यालयहरू अब खुल्ने भएका छन् ।
आईतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र अर्थात् प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिए ।
कोभिडको संक्रमण कम भएको, बजारमा भीडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको समेत सचिव गुरागाईंले बताए ।
नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न २०–२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टीनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले जनाएको छ ।
तेस्रो मुलुकबाट आउने व्यक्तिहरूलाई अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएकोमा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्रभावकारी रूपमा भराउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरूलाई निर्देशन दिने सम्बन्धी निर्णय भएको समेत सचिव गुरागाईंले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।