काठमाडौं- नेपाल चिकित्सक संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दा समेत सरकार गम्भीर नभएपछि संघले आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय भएको संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै धर्ना दिने कार्यक्रम पनि तय भएको छ ।
त्यस्तै जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने पनि तय भएको छ । यसैगरी शुक्रबार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने घोषणा संघले गरेको छ ।
शुक्रबारसम्म पनि पनि सरकारले वार्ता टोली बनाई सत्याग्रहको अन्त्य नगरिएको अवस्थामा संघबाट थप कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गरिने रिजालले बताए ।
संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुन पनि संघले स्पष्ट पारेको छ ।
केसीको १९ औँ असनसनको २४ दिनमा रहेका डा. केसीको माग पूरा गर्न यसअघि संघले सरकारलाई ७२ घण्टाको समयावधि दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।