काठमाडौं - डा. गोविन्द केसी अहिले १९औं सत्याग्रहका क्रममा शिक्षण अस्पतालमा छन् । १५ दिनदेखि सत्याग्रह बसेका उनको अवस्था शिथिल हुँदै गएको छ ।
तर, सरकारले अहिलेसम्म औपचारिक धारणासमेत बाहिर ल्याएको छैन । जुन विषयमा उनले सत्याग्रह थालेका हुन्, त्यसबारे राज्य बेखबर हुनु भनेको लोकतन्त्रका लागि शुभसंकेत होइन । यसअघि पनि २५–२६ दिनसम्म सत्याग्रह पुगेपछि राज्यको कानमा बतास लाग्ने गरेको थियो ।
अहिले मिडियादेखि सामाजिक सञ्जालका साथै चिकित्सक संघले समेत केसीको जीवनरक्षाका लागि पहल गर्न सरकारलाई सुझाइरहेका छन् । तर, प्रधानमन्त्री केपी ओलीले सुनेको नसुन्यै गरिरहेका छन् ।
स्वास्थ्य तथा शिक्षा मन्त्रालयले पनि औपचारिक रूपमा केसीको माग सम्बोधन गर्न चासो देखाएको छैन । सरकारी जागिरबाट अवकाश पाएलगत्तै केसीको गतिविधिसँग राज्यलाई कुनै चासो नदेखिएको हो कि भन्ने सर्वसाधारणले बुझ्न थालेका छन् ।
चिकित्सा शिक्षा सुधार, सामाजिक र राजनीतिक माग उनको सत्याग्रहका एजेन्डा रहेका छन् । यदि केसी जस्तो सत्याग्रहीको अनशनकै क्रममा स्वास्थ्य तलबितल परेमा त्यसको सबैभन्दा ठूलो घाटा भनेको प्रधानमन्त्री केपी ओलीको राजनीतिक जीवनमा लाग्नेछ ।
यो तथ्य अकाट्य हो । किनभने केसीको समर्थक र शुभेच्छुक यसै पनि यो देशमा सबैभन्दा धेरै छ । यसअघि केसीलाई सिध्याउन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की लागेका थिए ।
उनले औपचारिक रूपमै केसीलाई ‘पागल’ को संज्ञा दिएका थिए । आफूविरुद्ध अनशन बसेको भन्दै कार्की केसीविरुद्ध लागेका थिए । अन्ततः कार्कीलाई सर्वोच्च अदालतले आयोग प्रमुख नियुक्त हुन अयोग्य घोषणा गरिदियो ।
अहिले उनी कहाँ छन् ? कसैले पत्तो पाउन सकेको छैन । यस्तै, तत्कालीन सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुली पनि केसीविरुद्ध लागेका थिए ।
पराजुलीले अनियमितता र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै उनलाई प्रधानन्यायाधीश बनाउन नहुने भन्दै केसीले अनशनमा माग राखेका थिए ।
पराजुलीकै निर्देशनमा केसीलाई होम एरेस्ट गरियो । जुन निकै विवादास्पद बन्यो । पछि सर्वोच्चले नै पराजुली प्रधानन्यायाधीश बन्न अयोग्य घोषणा गरिदियो ।
केसीको विरुद्धमा उत्रिने नेपाल मेडिकल काउन्सिलदेखि त्रिभुवन विश्वविद्यालयका पूर्वअधिकारी तथा धेरै राजनीतिकले जनताको भरोसा र विश्वास गुमाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।