काठमाडौं– १८ घण्टा लामो लोडसेडिङ हटाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
२०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।
प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरुसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न लागेको कुर्सीको दौडमा छन् । कतिपय दावेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेटघाट बढाएका छन् ।
सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन् । लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरुको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहो¥याउन तयार रहेको घिसिङले बताउने गरेका छन् ।
यद्यपि, प्राधिकरणमा भित्रिने जोडबलमा लागेका उमेदवारहरु हेर्दा घिसिङको दोहोरिने सम्भावना न्युन रहेको पछिल्ला चलखेलका जानकारहरु बताउँछन् । विद्युतको नेतृत्वमा आउन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञावाली नै लागिपरेको चर्चा अझै सेलाइसकेको छैन ।
उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि आवेदन दिएर अन्तरवार्ताका लागि छानिइसकेपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार’ पछि हटेका थिए ।
प्राधिकरणको नेतृत्वमा आउन चाहेका अर्का पात्र विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह हुन् । मजोर कार्यसम्पादनका कारण हटाइएका सिंह पछि कुनै तरिकाले विद्युत विकास विभाग फर्कन सकेका थिए । अहिले उनी विद्युत प्राधिकरणको नेतृत्वका लागि नेता रिझाउन लागिपरेको स्रोत बताउँछ ।
यसबाहेक प्राधिकरणका पूर्वकार्यकारी तथा उपकार्यकारी निर्देशकहरु पनि प्राधिकरण फर्कन इच्छुक छन् । उनीहरुले दलका नेताहरुसँगको भेटघाट बढाएका छन् ।
यो दौडमा सबभन्दा बढी पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले कस्सिएको मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार, उनी पाएसम्म आफैं, नभए आफ्ना विश्वासिला पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटलाई ल्याउन कस्सिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।