काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चुनिएका सुबास रेग्मीले श्रमिक क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
बिन्ध्यवासिनी म्युजिकका सञ्चालकसमेत रहेका रेग्मी २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टीसँग आबद्ध छन्। लामो समयदेखि कांग्रेसको राजनीतिक तथा वैचारिक यात्रासँग जोडिएका उनी स्पष्ट र खरो वक्ताका रूपमा परिचित छन्।
रेग्मी राजनीतिक गतिविधिसँगै समाजसेवा, गीत–संगीत, कला तथा संस्कृति क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्। सामाजिक कार्यमार्फत विभिन्न समुदायसँग जोडिँदै आएका उनले कला तथा सांस्कृतिक क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा समेत लामो समयदेखि योगदान पुर्याउँदै आएको बताइएको छ।
पार्टी संगठन, समाजसेवा र कला–संस्कृतिको क्षेत्रमा प्राप्त अनुभवलाई कांग्रेसको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको रेग्मीको भनाइ छ। उनले पार्टीलाई थप सुदृढ र जनमुखी बनाउन श्रमिक, युवा तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध वर्गको प्रतिनिधित्वलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
रेग्मीले गगन थापाको नेतृत्वमा रहेको कांग्रेसले मुलुकको परिवर्तनको नेतृत्व गर्न सक्ने धारणा राख्दै पार्टीमा युवाहरूको अर्थपूर्ण सहभागिता र पुस्तान्तरण आवश्यक रहेको बताएका छन्।
श्रमिक वर्गको आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने, युवाको सहभागिता बढाउने तथा समाजसेवा र कला–संस्कृतिका क्षेत्रमा सक्रिय व्यक्तिहरूको अनुभवलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको रेग्मीले बताएका छन्।
२०४८ सालदेखि पार्टीको क्रियाशील सदस्यका रूपमा निरन्तर आबद्ध रहँदै आएका रेग्मीको उम्मेदवारीलाई उनको राजनीतिक यात्रा, सामाजिक सक्रियता तथा कला–संस्कृतिसँगको लामो संलग्नतासँग जोडेर हेरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।