काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सहयोग घोषणा गरेका हुन्।
रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट सार्वजनिक भइरहेका बाढीका तस्बिर र भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ। विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै ग्रुपले अझै आफन्तको खोजी र खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमै रहेको जनाएको छ।
यस्तो विषम परिस्थितिमा उद्धार, राहत र प्रभावित परिवार तथा समुदायसम्म आवश्यक मानवीय सहायता पुर्याउनु सबैको साझा र पहिलो प्राथमिकता हुनुपर्ने ग्रुपको भनाइ छ।
विपद्को घडीमा निजी क्षेत्रले पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्ने विश्वासका साथ गोल्छा ग्रुपले उक्त सहयोग घोषणा गरेको जनाएको छ।
ग्रुपले बाढी प्रभावित सम्पूर्ण परिवार र समुदायप्रति आफ्नो साथ, सहयोग र ऐक्यबद्धता कायम रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।