काठमाडौँ - धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा ख्यातिप्राप्त बाजुराको बडीमालिका मन्दिरमा पूजाआजाका लागि बाजुराको सरकारी टोली औपचारिक रूपमा प्रस्थान गरेको छ। सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेपछि सुरक्षाकर्मीको सलामी, बाजागाजा र पञ्चकन्या तथा महिलाहरूले फूलमाला र जमराको डोकरीसहित टोलीलाई बिदाइ गरेका छन्।
बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा र जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। प्रहरी प्रमुखकै नेतृत्वमा टोली गएकाले त्यहाँको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाइएको छ।
जिल्लाको टोली प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ। परम्परागत मान्यता अनुसार मुख्य पूजा हुनुभन्दा तीन दिन अघिदेखि नै यात्रा सुरु गर्नुपर्ने चलन छ। सोहीअनुसार टोलीले पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने तालिका रहेको नगरप्रमुख खड्काले बताए। बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिडिसकेको छ। हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका, बुढीनन्दालगायत जिल्लाका दर्जनभन्दा बढी शक्तिपीठमा मुख्य पूजा हुने परम्परा छ।
यस वर्ष बडीमालिका र बुढीनन्दा दिदीबहिनी मानिने यी क्षेत्रमा मुख्य पूजा यही भदौ ११ गते हुनेछ भने भक्तजनको चाप बढेका कारण भदौ १ गतेदेखि नै पूजा प्रारम्भ गरिएको छ। ४,२०० मिटर उचाइमा अवस्थित बडीमालिका मन्दिर र करिब ४,८८८ मिटर उचाइमा रहेको बुढीनन्दाको धार्मिक तथा पौराणिक महत्त्व ठूलो छ।
पुजारी नेत्रप्रसाद पाध्यायका अनुसार सत्य युगमा भगवान् शिवले सतीदेवीको शरीर बोकेर हिँड्दा यस क्षेत्रमा शरीरको अङ्ग पतन भएको र देवीको अवतार प्रकट भएको जनविश्वास छ। यहाँ पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहेकाले सुदूरपश्चिम प्रदेश सरकार, डोटी, जुम्ला, कालिकोट र कैलालीको धनगढी उपमहानगरपालिकाबाट समेत यसअघि नै सरकारी टोली तथा तीर्थयात्रीहरू प्रस्थान गरिसकेका छन्।
बडीमालिका क्षेत्रमा २२ वटा आकर्षक पाटन, खेतीबेती र त्रिवेणी धामजस्ता रमणीय स्थलहरू रहेका छन्। यस क्षेत्रको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वका कारण यहाँ आन्तरिक तथा छिमेकी देश भारतबाट समेत सयौँको सङ्ख्यामा तीर्थयात्रीहरू पुग्ने गरेका छन्। यस वर्ष दर्शनार्थीहरूको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ। साथै, तीर्थयात्रीहरूको सुविधाका लागि यस क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ टावर जडान गरी टेलिफोन तथा इन्टरनेट सेवा विस्तारको कामसमेत भइरहेको छ।
यसअघि राजनीतिक सन्दर्भमा बडीमालिका क्षेत्रलाई नेपालको ‘स्विट्जरल्यान्ड’को उपमा समेत दिइएका कारण यस क्षेत्रले थप चर्चा र पर्यटकहरूको आकर्षण बटुलिरहेको स्थानीय बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।