काठमाडौँ - निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ। सडकमाथि कम्मरसम्म आउने गरी बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन्।
राजपुर नगरपालिकाअन्तर्गत पर्ने फतुवा पुलको पश्चिमतर्फको लचकामा लाल बकैया खोलाको बाढीले उग्र रूप लिएको छ। सडक जलमग्न भई तीव्र बहाव हुँदा समेत दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य उपचार र आकस्मिक काम सल्टाउनका लागि सर्वसाधारणहरू त्यही उर्लँदो भेलमा हेलिएर बाटो काटिरहेका छन्
। तराई–मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्ग रौतहटलाई छिमेकी जिल्ला र अन्य स्थानीय तहहरूसँग जोड्ने सबैभन्दा छोटो र महत्त्वपूर्ण मार्ग हो। यही मार्ग भएर दैनिक रूपमा सयौँ मोटरसाइकल, साना चारपांग्रे सवारी साधन, एम्बुलेन्स र पैदल यात्रीहरू आवतजावत गर्ने गर्छन्। तर, वर्षायाम सुरु हुनासाथ यो सडकखण्ड टापु जस्तै बन्ने गरेको छ र अन्य कुनै वैकल्पिक सडक वा डाइभर्सनको व्यवस्था नहुँदा स्थानीय नागरिकसँग जोखिम मोल्नुको अर्को विकल्प छैन।
‘बजार जानु पर्छ, बिरामी पर्दा अस्पताल पुग्नु पर्छ, बाटो बन्द गरेर घरमै भोकै बस्न सकिँदैन,’ एक स्थानीय यात्रुले आक्रोश पोख्दै भने, ‘ज्यान त हत्केलामा छ, तर बाध्यताले खोला जस्तै बगेको सडक पार गर्नै पर्छ।’ बाढीको बहाव र गति लगातार बढिरहेकाले हुलाकी राजमार्गको उक्त खण्डमा जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्ने खतरा बढेको छ। तीब्र बहावका कारण साना सवारी साधनहरू बगाउने जोखिम पनि उच्च छ।
सम्भावित मानवीय क्षति रोक्नका लागि उक्त स्थानमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ। सुरक्षाकर्मीहरूले बाढी प्रभावित सडक खण्डमा सूक्ष्म निगरानी राखिरहेका छन् भने पानीको सतह र बहाव अझै बढेमा दुर्घटना टार्नका लागि तत्कालै सडक पूर्ण रूपमा बन्द गराइने सुरक्षा स्रोतले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनका अनुसार जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेको छ। वर्षा निरन्तर भइरहेकाले लाल बकैया नदी आसपासका तटीय क्षेत्रका बासिन्दा तथा सोही मार्ग प्रयोग गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र विना काम जोखिमपूर्ण यात्रा नगर्न स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ। यो समस्या राजपुरबासीका लागि नयाँ भने होइन। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै लाल बकैया खोलाले हुलाकी राजमार्गको यो खण्डलाई डुबाउने र अवरुद्ध गर्ने गरेको छ।
हिउँदमा सरकारी निकायले ध्यान नदिने र वर्षामा जनताले सास्ती भोग्नुपर्ने यो नियति वर्षौँदेखि दोहोरिँदै आएको छ। त्यसैले स्थानीय बासिन्दा र नागरिक समाजले यो मौसमी सास्तीको दीर्घकालीन समाधान खोज्न सरकारसँग जोडदार माग गर्दै समयमै स्थायी संरचना नबनाए कुनै पनि दिन यहाँ ठुलो मानवीय विपत्ति आउन सक्ने चेतावनी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।