काठमाडौं - नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घट्नामा प्रधानमन्त्री मैन बसेको भन्दै आपत्ति जनाइन् । जीवनसाथी, सन्तान र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले सरकार नागरिकका पीडा सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाइन् ।
उनले भनिन्,‘मिति २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्री ज्यु? हिजोको घटनामा तपाईं, तपाईंको मौनता किन? विपक्षमा हुँदा राज्यले राज्यको सफलता माथि कठोर प्रश्न उठाउने तपाईं आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ?’
थापाले राज्यको कमजोरीका कारण नागरिकले आत्मदाहजस्तो कठोर कदम चाल्नुपर्ने अवस्था आएको बताइन् । उनले गणेश नेपालीको उद्धार प्रक्रियामाथि समेत प्रश्न उठाइन् ।
‘राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो,’ उनले भनिन्, ‘शरीर आगोमा दन्किरहेको बेला एम्बुलेन्स पठाउनुको सट्टा प्रहरी प्रशासन लगाएर अपराधी झैँ घिसारेर लगियो भन्ने कुरा आएको छ । यो उद्धार हो कि गिरफ्तारी हो सरकार ?’उनले गणेश नेपालीले कुनै अपराध नगरेको भन्दै राज्यले नागरिकको जीवन रक्षा र समस्या समाधानमा ध्यान दिनुपर्ने बताइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।