काठमान्डौ- सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउने तयारी गरेको हो ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
सोहीमध्ये बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन अवधि वैशाख ६ गतेसम्म रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।