काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै हालसम्म १०७ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ।
पछिल्लो परिणामअनुसार रास्वपाले यस्तो नतिजा निकालेको हो भने सोही पार्टीका उम्मेदवारहरूले थप १८ निर्वाचन क्षेत्रमा अग्रता कायम राखिरहेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १३५ स्थानको अन्तिम मतगणना सार्वजनिक भइसकेको छ। यस अवधिमा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने दुई स्थानमा आफ्नो अग्रता कायमै राखेको छ।
त्यसैगरी नेकपा (एमाले) ले सात स्थानमा विजय प्राप्त गर्दा तीन स्थानमा अगाडि देखिएको छ। आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने ३ स्थानमा अग्रता लिएका छन्। राजनीतिक वृत्तमा नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी भएका छन् भने २ स्थानमा उनीहरूको अग्रता रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले पनि एक–एक स्थानमा जित निकालेका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि तीव्र रूपमा भइरहेको छ। हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएकोमा रास्वपाले १३ लाख ८८ हजार ४२१ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले चार लाख ७१ हजार ३५५ मत पाएको छ भने नेकपा (एमाले) ले तीन लाख ८० हजार ९३२ मत प्राप्त गरेको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।