काभ्रेपलाञ्चोक । रामेछापका एक पुरुषले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरेका छन् ।
रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको ३२ साउनमा बनेपा नगरपालिका-१३ साँगामा रहेको भगवान थुम्की सामुदायिक वनमा हत्या गरेका हुन् । सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ ।
शर्मिलाको शव आइतबार दिउँसो भगवान थुम्की सामुदायिक जंगलमा कोल्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।
घलेका अनुसार घुम्न जाऊँ भन्दै जंगल लगेपछि सन्तोषले पहिले मन्दिरमा गाडिएको लठ्ठीले प्रहार गरेका थिए र त्यसपछि कुर्ताको सल घाँटीमा बाँधेर हत्या गरेका थिए।
प्रारम्भिक बयानमा सन्तोषले विवाह गर्न प्रस्ताव गर्दा शर्मिलाले नमानेको र त्यसकै रिसमा हत्या गरेको बताएका छन्।
अनुसन्धानपश्चात् घटनामा संलग्न भएको आरोपमा बनेपा नगरपालिका-१० इँटाभट्टास्थित कोठाबाट सन्तोषलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक बयानमा अभियुक्तले प्रेमिकालाई कर्तव्य गरी मारेको स्वीकारेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बनेपाबाट डीएसपी रामेश्वर त्वातीको कमान्डमा १५ जनाको टोली र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टर सहितको टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको थियो । मृतकका बुबा कमलबहादुर उप्रेतीले सनाखत गरेका थिए । गत ३२ असारदेखि हराएकी शर्मिलाको सोही दिन हत्या भएको प्रहरीले जनाएको छ ।
आरोपी सन्तोषलाई थप अनुसन्धानका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।