निरन्तर वर्षापछि सडक भासिदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ ।
बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले भासिएको स्थानमा माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले जानकारी दिनुभयो । सडक भासिने क्रममा फसेको लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक तानेर हटाइएको छ ।
पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ । गत वर्षपनि सोही स्थानमा सडक भासिदा दुई दिनसम्म राजमार्ग सुचारु हुन सकेको थिएन । गत वर्ष पहिरोले भासिएको सडक मर्मत गरेर सुचारु गरिएको भएपनि यस वर्ष पानी पर्न थालेपछि सोही स्थानमा फेरि सडक भासिएको हो ।
नारायणगढ बुटवल सडक खण्डमा पानी पर्ने बित्तिकै सडक भासिने, पहिरो खस्ने र सडक चिप्लो हुने समस्याले पटक पटक यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।