आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रोमाञ्चक खेलमा नेपाल पराजित

रोमाञ्चक खेलमा नेपाल पराजित

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ ३ २०८२

  • 456
    SHARES

  • रोमाञ्चक खेलमा नेपाल पराजित

    स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।

    निर्धारित २० ओभरको खेल टाइ भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाइ भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले बाजी मारेको हो ।

    पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएको थियो । दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल फेरि तेस्रोपटक सुपर ओभरमा गएको थियो ।

    तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । १ रनको लक्ष्य नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्यो ।

    त्यसअघि निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि स्कोर बराबर भएर खेल सुपर ओभरमा गएको थियो ।

    कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाएर फिनिस भने गर्न सकेका थिएनन् । कुशल भुर्तेलले ३४ रन बनाए ।

    नेपाललाई अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा सन्दीप लामिछाने र नन्दन यादव क्रिजमा थिए । सन्दीपले पहिलो बलमा २ रन लिए, दोस्रो बलमा १ रन लिएर नन्दनलाई स्ट्राइक दिए ।

    तेस्रो बलमा नन्दनले चौका प्रहार गरे । चौथो र पाँचौं बलमा २-२ रन लिएर अन्तिम बलमा ५ रन आवश्यक हुँदा नन्दनले चौका प्रहार गरेका थिए ।

    नेदरल्याण्ड्सका डानियल डोरामले ४ ओभरमा १४ रन मात्र दिएर ३ विकेट लिए । विक्रमजित सिंहले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । काइल क्लेइन, बेन फ्लेचर र जाच लायनले १-१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउँदै नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो ।

    नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए भने विक्रमजित सिंहले ३० तथा साकिब जुलफिकरले अविजित २४ रन बनाए ।

    ओपनर माइकल लेभिटले २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । जाच लायन काचेटले ११ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । नन्दन यादवले २.५ ओभरमा १८ रन दिएर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

    यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् ।

    यो नेपालको १००औं टी-२०आई खेल पनि हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३ २०८२०९:०७:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend