काठमाडौँ । नेपालले स्कटल्यान्डमा जारी आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ । डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो ।
जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक रनले हराएको थियो । नेपालको जितमा आरिफ शेखले अर्धसतकीय इनिङ्स खेले । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाएका हुन । आरिफ प्लेयर अफ दि म्याच भएका छन ।
यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन र गुलसन झाले अविजित ११ रन बनाए ।
बलिङमा नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिए । भिभियन किङमा र पल भान मिकेरनले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २५ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोआह क्रोयसले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र रोलफ भान डर मर्वेले २१ रन बनाए ।
बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुई दई विकेट लिए ।
जितसँगै १४ खेलबाट १० अङ्क बनाएको नेपाल तालिकाको सातौँ स्थानमा छ । २१ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।
लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।
नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।