बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बाढी पहिरोको जोखिमका बिषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

बाढी पहिरोको जोखिमका बिषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

  • मिडिया डबली डेस्क
  • मंगलवार, बैशाख ३० २०८२

  • 516
    SHARES

  • बाढी पहिरोको जोखिमका बिषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

    काठमाण्डाै । बर्खायाम शुरू भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरूले गएको वर्ष असोजमा आएको बाढी पहिरोले क्षति पुर्‍याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे ।

    सांसद सूर्यमान दोङले गएको वर्ष असोजको बाढी पहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मत–मम्भारको काममा ढिलाइ भइरहेको बताउनुभयो । त्यस्तै बीपी राजमार्गमा अहिलेसम्म सहज रूपमा गाडी सञ्चालन हुन नसकेको विषय पनि उहाँले उठाउनुभयो ।

    सांसद लेखनाथ दाहालले गएको वर्षको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग अहिले पनि १४ ठाउँमा अवरुद्ध रहेको बताउनुभयो । त्यस्तै यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा हिजो रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।

    यसैबीच सांसदहरूले सगरमाथा संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन् । सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य सङ्कटले सताइरहेको बेलामा जलवायु न्यायका लागि सगरमाथा संवाद आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण बाढी पहिरोको जोखिम तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेकाले जलवायु न्याय स्थापित गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

    बैठकमा सांसद डोलप्रसाद अर्यालले सगरमाथा संवाद कार्यक्रममार्फत समयमै विपद् व्यवस्थापनको वातावरण सिर्जना हुने भन्दै त्यसैअनुसार तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद प्रेमबहादुर महर्जनले गएकाे वर्ष असोज ११ र १२ गते गएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले जोखिमपूर्ण बस्तीको सुरक्षाका लागि पहल गर्नुपर्ने, भत्किएका पुलहरू मर्मत तथा समयमा नै नदी सफाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

    सरकारले आउँदो जेठ २ देखि ४ गतेसम्म काठमाण्डाैमा सगरमाथा संवाद गर्ने  तयारी गरिरहेको छ । परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिकी संयोजक आरजु देउवा राणाले सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । सगरमाथा संवादमा जलवायु परिवर्तनका मुद्दासँगै मानव जगत‍्का विभिन्न समस्या र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०८२०४:०१:५७

    मिडिया डबली डेस्क

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend