काठमाडौं - गत पुस १० गते नयाँ गठबन्धन बन्ने बेला एमाले अध्यक्ष केपी ओलीले आफूले उठाउने राष्ट्रपतिका उम्मेदवार २९ हजारभन्दा बढी मतसहित विजयी हुने अपेक्षा गरेका थिए ।
तर, सरकार गठन भएको एक महिना बित्दा गठबन्धनमा धेरै उतारचढाव आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको सम्बन्ध अविश्वासमै रुमलिएको छ ।
सत्ता समीकरणका रूपमा आपसमा नजिकिए पनि प्रचण्ड र ओलीले एकअर्काकालाई अझै विश्वास गर्न सकेका छैनन् । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि त एमाले अध्यक्ष ओली झन् तनावमा परेका छन् ।
यसबीचमा ओलीको प्रस्तुतिले पनि त्यस्तो छनक देखाइसकेको छ । त्यही भएर राष्ट्रपतिको निर्वाचनसम्म माओवादी केन्द्रले कस्तो भूमिका खेल्ला भन्ने अहिले चौतर्फी चासो बढेको छ ।
एमाले अध्यक्ष ओलीले छानेका उम्मेदवारलाई माओवादीले जस्ताको त्यस्तै समर्थन गर्ने सम्भावना कम छ । ‘पुस १० र पुस २६ को स्थिति फरक हो, त्यसैले अब राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता छ,’ प्रधानमन्त्री प्रचण्डले माघ ५ गते आह्वान गरेको सर्वदलीय बैठकमा ओलीकै अगाडि भनिसकेका छन् ।
जसलाई ओलीले तत्कालै प्रतिवाद पनि गरेका थिए । अहिले सबैको ध्यान राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित छ । राष्ट्रपति निर्वाचित गर्न कुनै एक दलको मतले मात्र पुग्दैन । त्यही भएर समीकरण बन्नै पर्ने हुन्छ । यदि अहिलेकै गठबन्धन कायम भएमा एमाले उम्मेदवार निर्वाचित हुनेछन् ।
तर कांग्रेसले अपेक्षा गरेजस्तै भएमा दोस्रो विकल्पबाट राष्ट्रपतिको चयन हुनेछ । माओवादी कांग्रेसतर्फ ढल्किएमा गैरएमाले उम्मेदवार राष्ट्रपति हुन सक्नेछन् । कांग्रेस १६ हजार २ सय २१, माओवादी ७ हजार ७ सय ४५, जसपा २ हजार १ सय ४५, एस २ हजार ५ सय ७४, जनमत १ हजार २ सय ४२, लोसपा ९ सय ७१, नागरिक उन्मुक्ति ८ सय ९२, जनमोर्चा २ सय ६, स्वतन्त्र ६ सय ५० सहित ३२ हजार ६ सय ४६ मत एकठाउँ हुनेछ ।
यसरी यो गठबन्धनले आवश्यकभन्दा ६ हजार २ सय मत बढी पाउनेछ । माओवादीले घोषित रूपमा गठबन्धन नछाडेर केही मतमात्र ‘क्रस’ गरिदिएमा पनि एमाले अप्ठ्यारोमा पर्नेछ ।
यो अवस्थामा तेस्रो विकल्पबाट राष्ट्रपति निर्वाचित हुनेछन् । यो विकल्पबाट राष्ट्रपति निर्वाचित गर्न कांग्रेसले माओवादीबाट जम्मा १४ सय ५३ मत प्राप्त गरे पुग्नेछ ।
किनकि कांग्रेस १६ हजार २ सय २१, एस २ हजार ५ सय ७४, जसपा २ हजार १ सय ४५, जनमत १ हजार २ सय ४२, लोसपा ९ सय ७१, नागरिक उन्मुक्ति ८ सय ९२, स्वतन्त्र ६ सय ५०, जनमोर्चा २ सय ६ गरी २४ हजार ९ सय १ मत प्राप्त गर्नेछ ।
बहुमतका लागि आवश्यक २६ हजार ३ सय ५४ पुर्याउन माओवादीले २० प्रतिशत मत ‘क्रस’ गरिदिए पुग्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।