काठमाडौँ- एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंस्थित न्युरोड बिशालबजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सीधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ समयभित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ । खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५०० र १००० रुपैयाँ दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९,५०० रुपैयाँ र दैनिक अधिकतम ९,९९,५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिनेछ ।
रकम जम्मा गर्ने प्रक्रियालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड कोड प्राप्त हुनेछ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ ।
उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिपमार्फत प्राप्त हुनेछ । बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभई छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउने समेत गर्छ ।
बैंकले देशका विभिन्न स्थानमा यी मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहकहरूलाई भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, यस बैंकले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै ग्राहक महानुभावहरूको अत्यावश्यक बैंकिङ सेवालाई अझ सहज एवं सरल बनाउँदै लैजाने अठोट लिएको छ ।
यस बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गर्ने बैंक हो । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।