काठमाडौं- मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो मतदानबाट मधेसी जनताले सजाय दिएका छन्। विगतमा पटक-पटक मधेसी जनताको बलमा राजनीति गरिरहेका यादवले उनीहरुलाई नै धोका दिएपछि यसपटक जनताले सजाय दिएका हुन्।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा यादव सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतले पराजित भएका छन्। २०६३ मा जारी भएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि मधेसमा सुरु भएको आन्दोलनबाट नै यादवको नेपालको केन्द्रीय राजनीतिमा प्रभाव बढेको हो।
त्यसयता उनलाई मधेस क्षेत्रका बलिया नेताको रुपमा प्रस्तुत गरिन्थ्यो। मधेसी जनताले पनि उनलाई आफ्नो भरोसाका रुपमा हेरेका थिए। तर, पटक-पटक जितेर गए पनि जनताको जीवनस्तर उकास्न र विकासका लागि भने कुनै पनि काम गर्न नसकेको र विदेशीहरुको एजेन्ट बनेर व्यक्तिगत लाभमा रमाएपछि भने यसपटक उनलाई मधेसी जनताले सजाय दिएका हुन्।
उनले अहिले मधेसी जनताप्रतिको व्यवहारमात्र नभएर आफ्नो राजनीतिक दर्शन पनि परिवर्तन गर्दै गएपछि जनताले यादवलाई नराम्रो गरी पछारिदिएका हुन्। पहिलो मधेस आन्दोलनबाट केन्द्रीय राजनीतिमा उदाएका उपेन्द्र यादव र उनी नेतृत्वको तत्कालीन पार्टी मधेसी जनअधिकार फोरम अहिले जनता समाजवादी पार्टी नेपालमा परिणत भएको छ।
पार्टीको नाम मात्रै होइन, यादवको राजनीतिक मिसन पनि फेरिएको छ। मधेसको मुद्दा र अधिकार तथा पहिचान सहितको संघीयताका लागि राजनीतिमा स्थापित भएका यादव पछिल्लो समय त्यसभन्दा अघि बढेर समाजवादी केन्द्र बनाउन लागिपरेका थिए। अशोक राई र बाबुराम भट्टराई नेतृत्वका पार्टीसँगको एकता त्यसैको लागि थियो।
यादवको पछिल्लो राजनीतिक यात्रालाई मधेसमा सकारात्मक रुपमा लिइएको पाइँदैन। उनले पार्टीको नाम मधेसी जनअधिकार फोरमलाई संघीय समाजवादी फोरम बनाउँदै गर्दा मधेसवाद नेपालमा कुनै राजनीतिक विचारधारा नभएको टिप्पणी गरेका थिए। जसप्रति मधेस आन्दोलनमा जोडिएका र समभाव राख्नेहरुले असन्तुष्टि जनाएका थिए। र यो निर्वाचनको क्रममा कैयौँले समाजिक सञ्जालमा यही सवाल उठाउँदै यादवलाई मधेसवादी नभएका कारण मधेसी जनताले भोट नदिएको बताउने गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।