काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने काम सकिएको छ ।
निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाविरुद्ध उजुरी हाल्न समय दिएको छ । यसपटकको निर्वाचनमा व्यापक रूपमा युवा अनुहारले टिकट पाउने अपेक्षा गरिएको थियो ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपालगायतका दलले जसरी युवा अनुहारलाई टिकट दिने ठानिएको थियो, अपेक्षाकृत रूपमा त्यसो हुन सकेन ।
तर, पनि ज–जसले टिकट पाएका छन्, उनीहरू जबर्जस्त रूपमा संसद्मा छिर्न सक्ने हैसियतका छन् । नेपाली कांग्रेसले टिकट दिएका अधिकांश युवा अनुहारले भने चुनाव जित्ने अनुमान गरिएको छ ।
जसमा कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डे, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादवले आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनाव जित्ने देखिएको छ ।
यस्तै, केन्द्रीय सदस्यहरू एनपी साउद, रामहरि खतिवडा, उदयशमशेर राणा, मोहन बस्नेत,प्रदीप पौडेल, सीता गुरुङ चारैजना चुनाव जित्न सक्ने लोकप्रिय नेता हुन्। कांग्रेस इलामका सभापति डम्बर खड्का, स्याङ्जा कांग्रेसका सभापति राजु थापाले यसपटक एमालेका हस्तीलाई हराउने देखिएको छ ।
उनीहरू आफ्नो जिल्लामा विकास र समाजसेवाका कामले लोकप्रिय मानिएका छन् । कांग्रेस युवा नेता खड्काको भिडन्त पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग हुँदैछ ।
चारपटक सांसद हुँदा पनि नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा कुनै काम नगरेकाले यसपटक इलामेली जनताले खड्कालाई सांसद चुन्ने मौका कुरेर बसेका छन् । यस्तै, प्रदेश सभाको प्रत्यक्षतर्फ उठेका कांग्रेसका अधिकांश युवा नेता सांसद बन्दैछन् । यस्तै, नवलपरासी–१ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका उद्योगी विनोद चौधरीले चुनाव जित्ने देखिएको छ ।
काठमाडौं ५ बाट कांग्रेसले युवा नेता प्रदीप पौडेललाई टिकट दिएको छ । सो क्षेत्रमा उनको भिडन्त एमालेका उपाध्यक्ष ईश्वर पोखरेलसँग हुँदैछ । नरहरि आचार्यले जितेको क्षेत्र भएको र पौडेल पनि आचार्यकै अनुयायी भएकाले यसपटक उनले बाजी मार्ने आकलन गरिएको छ ।
जसमा ललितपुरबाट मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकार सबैभन्दा अघि छन् । दोलखा (क) बाट टिकट पाएका कुन्दनराज काफ्लेको माहोल निकै राम्रो देखिएको छ ।
यसैगरी, मकवानपुर २ (ख) बाट उम्मेदवारी दिएका कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ बागमती प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन् ।
दलहरूबीचको सहमति अनुसार उनी अहिले मुख्यमन्त्री बन्नुपर्ने हो । तर अबको निर्वाचनमा बहुमत ल्याएर मुख्यमन्त्री बन्ने भन्दै उनी चुनावी मैदानमा उत्रेका छन् । उनी सहजै चुनाव जित्ने कांग्रेस नेतामा पर्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।