काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको कांग्रेसले आज पदाधिकारी बैठक राखेर निर्वाचन अभियानमा केन्द्रित हुने निर्णय गरेको छ । जसअनुसार कांग्रेसले २२ दिने चुनावी अभियान थाल्ने भएको छ ।
कांग्रेसले भदौ २ गतेदेखि २४ गतेसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन कस्तो छ भन्ने विषयमा केन्द्रीय सदस्यहरूले प्रतिवेदन तयारी पारी पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्न निर्देशन दिइएको छ ।
पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित सोमबारको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका थिए ।
अधिकांश नेताले चार पाँच हजार भोट नभएका पार्टीका उम्मेदवारलाई तीस हजार मत खसाउन नसकिने भन्दै सय सिट आफूले राखेर ६५ सिटमा बाँडफाँड गर्नुपर्ने सुझाव दिएका छन् ।
तर, यसपटक पाँचदलीय गठबन्धनमा लोसपा पनि सामेल हुन इच्छुक भएकाले कांग्रेसले ९० सिट आफूलाई राखेर बाँकीमा भागबन्डा लगाउन सक्ने कांग्रेसका एक नेताको भनाइ छ ।
आजको बालुवाटार बैठकमा गठबन्धनका अन्य दलको धम्की र चेतावनीलाई कांग्रेसले गम्भीर लिन नहुने भन्दै सिट बाँडफाँडमा कसिकसाउ गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।