काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जहाँ गयो, त्यही बबन्डर मच्चिने गरेको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रचण्डले तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फकाइफुल्याई पारेर अन्तिममा कांग्रेसलाई दोस्रो पार्टीमा सीमित बनाइदिएका थिए ।
उनले गिरिजालाई राष्ट्रपतिको लोभ देखाएर गर्न हुने नहुने सबै गरे । अहिले पनि उनी बेलाबेलामा आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर धेरै ठूलो भूल गरेको बताउने गर्छन् ।
यिनै प्रचण्ड अहिले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न डर, धम्की, त्रास देखाएर आफूले ठूलो भाग लिने रणनीति अख्तियार गरेका छन् । आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन कायमै राखेर पहिले आफू प्रधानमन्त्री बन्ने उनको धोको छ । प्रचण्डको यही रणनीति बुझेका कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाधक बन्ने देखिएपछि कांग्रेसमा भाँडभैलो सिर्जना गर्न खोजिएको छ ।
कतिसम्म भने पार्टीको केन्द्रीय समिति बैठकमा समेत महामन्त्रीद्वय थापा र शर्मामाथि संस्थापन पक्षका नेताहरु आक्रमक भएका छन् । उनीहरूले गठबन्धन गरेरै जानुपर्ने धारणा राखिरहेका छन् । तर महामन्त्री थापा र शर्मा कांग्रेसले आफू बहुमत आउने गरी र निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने गरी गठबन्धन गर्नुपर्ने पक्षमा छन् । त्यसैले अहिले पार्टीमा गुटबन्दी गरेको आरोप लगाउँदै संस्थापन पक्षका नेताहरू थापा र शर्मामाथि खनिएका छन् ।
अबको निर्वाचनपछि कांग्रेसबाट प्रधानमन्त्रीमा गगन थापाले आफूले दाबी गर्ने बताइसकेका छन् । त्यही भएर प्रचण्ड आगो भएका छन् । उनी कुनै पनि हालतमा गगनलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिअनुसार कांग्रेसमा भाँडभैलो सिर्जना गर्न उद्यत देखिएका छन् ।
जसरी केपी ओली प्रधानमन्त्री भएका बेला प्रचण्डले उनलाई चैनले बस्न दिएका थिएनन्, अहिले प्रचण्ड त्यही हर्कत दोहोर्याउन लागिरहेका छन् । यसपटकको कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आरोप प्रत्यारोप सुरु हुनुमा पनि प्रचण्डकै खेल भएको धेरैले बुझेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।