काठमाडौं । नेपाली कांग्रेसले सांसद पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेपछि बसेको सत्तारुढ गठबन्धनको बैठकले उपसभामुखमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो ।
अर्घाखाँचीको भुसाल कांग्रेसको समानुपातिकतर्कको सांसद तथा संसदमा कांग्रेसकी सचेतक हुन् । सचेतक भुसालले पार्टीको निर्णय अनुसार नै आफूले उपसभामुख पदका लागि उम्मेदवारी दिन लागेको पुष्टि गरिन् । कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी भुसाल पहिलो संविधानसभाको अर्घाखाँची २ बाट सदस्यमा निर्वाचित भएकी थिइन् ।
शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ मा राजिनामा दिएसँगै प्रतिनिधिसभा उपसभामुख रिक्त रहेको थियो । २०७४ मा प्रतिनिधिसभा निर्वाचन लगत्तै पनि भुसाललाई कांग्रेसले उपसभामुखको उम्मेदवारका रुपमा अगाडि सारेको थियो । त्यसबेला उनी तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् । संवैधानिक निकाय तथा विभिन्न महत्वपूर्ण अंगहरुमा अध्यक्ष तथा पदाधिकारी नियुक्त गर्ने ६ सदस्यीय संवैधानिक परिषद्मा उपसभामुख सदस्य रहने व्यवस्था छ ।
संविधानले नै प्रतिनिधसभाको सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सभामुख सापकोटा माओवादीबाट निर्वाचित सांसद हुन् । २०७४ सालको आमचुनावमा पछि माओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुख भएका थिए । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजिनामा दिएका थिए । सत्ता गठबन्धनले मतदान गर्ने भएपछि भुसाल उपसभामुख बन्ने निश्चित छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।