काठमाडौं - अवसरवारी चरित्र बोकेका डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टीमा गएर अलपत्र पर्ने भएका छन् । माओवादी छाडेपछि ओरालो लाग्न थालेको उनको राजनीतिक करियर मधेसवादी दल जसपामा पुगेपछि तीव्र ढंगले क्षयीकरण भएको छ ।
संविधान जारी भएलगत्तै बाबुरामले माओवादी पार्टी त्यागेका थिए । त्यसपछि उनले नयाँ शक्ति पार्टी गठन गरे । तर, सो पार्टी पनि धेरै समय चलेन । उनले नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी पार्टीमा विलय गराए ।
त्यसपछि संघीय समाजवादी र राजपाबीच एकता भई जसपा पार्टी गठन गरे । अहिले सोही पार्टीले बाबुराम पक्षमाथि कारबाही गर्ने निर्णय गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद् अध्यक्ष बाबुरामसहितका नेतालाई कारबाही गर्ने भएको छ ।
सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले बाबुराम र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए । लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षबीच विवाद चलिरहेको छ ।
यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ । भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीतिअनुसार गतिविधि गरिरहेको पाइन्छ ।
यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै थाहा पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराईमाथि नै कारबाही गर्न निर्णय लिएको हो ।
बाबुरामलाई कारबाही गर्नुपर्ने भन्दै केही दिनअघि उपेन्द्रलाई ज्ञापनपत्र बुझाइएको थियो । कार्यकारिणीको बैठककै दिन यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।
उनले एकीकृत समाजवादीले मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई शपथग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदल गर्नुपर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भनेका थिए । प्रचण्डकै सल्लाहअनुसार उनले सोमबार साँझ कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गराएका थिए । जसपावाट नेताहरु राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।