सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संघीयता विश्वकै कमजोर भएको टिप्पणी गरेका छन् । र, उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि मन नपरे खारेज गर्न सुझाव दिएको बताएका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धीको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विश्वमै कमजोर संघीयता भारतको भएको र नेपालको संघीयता महाकमजोर भएको बताए ।
मुख्यमन्त्री शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुखमन्त्री’ हो, भन्ने आफूलाई नै थाहा नभएको टिप्पणी गरे । ‘म हिजो जिल्ला विकास समितिको सभापति थिएँ, त्यतिबेला अझ बढी पावर थियो । अहिले नामको मात्र मुख्यमन्त्री हो’ मुख्यमन्त्री शाहीले भने, ‘मैले अस्तिको भेटमा प्रधानमन्त्रीज्यूलाई पनि भने, संघीयता मन परेको छैन भने खारेज गरौं, ‘क्यान्सिल इट’ । हैन भने अधिकार दिनुस् ।’
प्रादेशिक संरचना नै संघीयता अभ्यासको आधार भएकाले अधिकार विहीन संरचनाले उचित प्रतिफल नदिने मुख्यमन्त्री शाहीको तर्क छ । ‘केन्द्र र स्थानीय तह हिजो पनि थियो । संघीयता भनिएको छ, मन्त्रालय बसेको जग्गा प्रदेशको नाममा छैन, माथिका मान्छेले पावर दिन चाहँदैन । यसरी त कसरी काम गर्न सकिन्छ ?’ उनले कार्यक्रममा सहभागीलाई प्रश्न गर्दै भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।