काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा एमाले उपाध्यक्ष समेत रहेका पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले संसदमा झुट बोलेको खुलेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेका पोखरेलले एमाले र ओली नेतृत्वको सरकारविरुद्ध झुटो आरोप लगाएको दाबी गरे। उनले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको दाबी गरेका थिए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गरे।
पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सांसद पोखरेलले आफू मन्त्री रहँदा त्यसबारे कुनै भएको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती दिँदै त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको बताएका थिए। ‘गठबन्धनका नेताहरु आज गलत ढंगले झुटो कुरा बोलिरहनुभएको छ। गठबन्धनलाई नेतृत्व गर्ने नेताहरु सरासर झुटो कुरा बोलिरहनुभएको छ। एमालेप्रति आक्षेप लगाउने काम गर्नुभएको छ। सन् २०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, रक्षा पनि। सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यसबेला सकारात्मक प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरु बोलिरहनुभएको छ।’
पोखरेलले सदनमा चुनौती दिएको एकाध घण्टामै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपी संलग्न हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भयो। सन् २०१५ को अक्टोबर २७ मा (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुनका लागि अनुरोध गरेका थिए। त्यसबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए। पत्रको बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पनि दिइएको छ। पोखरेलले एसपीपी सम्झौता तत्कालीन प्रधानमन्त्री कोइरालाका पालामा एसपीपीको प्रस्ताव आएको दाबी गरेका थिए। असोज २५ गते प्रधानमन्त्रीमा ओली चुनिइसकेका थिए।
पोखरेलले एमाले सरकार र आफू रक्षामन्त्री हुँदा एसपीपीका लागि कुनै सकारात्मक कुरा गरेको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती समेत दिएका थिए। तर, २०१८ अगस्ट १२ मा पोखरेलले रक्षमन्त्रीको हैसियतमा अमेरिकी इन्डो प्यासिफिक कमान्डका डेपुटी कमान्डर ब्रायन फेन्टनसँग भेटवार्ता गरेका थिए। नेपाल भ्रमणमा आएका फेन्टनले पोखरेल, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताबारे जानकारी दिँदै अमेरिकी दूतावासले लेखेको छ, ‘अमेरिका र नेपालबीचमा अझै बलियो सुरक्षा साझेदारी कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्नुभयो। भ्रमणका क्रममा उहाँले नेपाली सेना महाबिर रजेन्र रजिमेन्टमा गई सैन्य चिकित्सा, सर्च तथा रेस्क्यु तालिम, आत्मरक्षा प्रविधिहरूलागयत अन्य सैन्य रणनीतिक विषयको अवलोकन गर्नुभयो। आफ्नो कठिन मेहनत, एक आपसको सहकार्य, तथा आथित्यका माध्यमबाट नेपाली सेना र रक्षा मन्त्रालयले नेपाल र अमेरिकाबीचको रक्षा–सम्बन्ध अझै बलियो हुँदै गएको थप प्रष्ट पार्नुभएको थियो।’
त्यसो त पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्यान्डल स्राइभरसँग भेटवार्ता गरेका थिए। जहाँ पोखरेलले इन्डो प्यासेफिक स्टाटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
‘अमेरिकी सरकारले नेपाली सेनाको क्षमता विकास, विपद् व्यवस्थापन र संयुक्त सैन्य अभ्यासमा गरेको सहयोगप्रति पोखरेलले धन्यवाद दिनुभएको छ,’ रक्षा मन्त्रालयका तत्कालीन उपसचिव मुक्तिराम अर्यालले काठमान्डू पोस्टसँग भनेका थिए, ‘रक्षामन्त्री पोखरेलले अमेरिकी सेनाको इन्डो प्यासेफिक रणनीति अन्तर्त स्टेट पार्टनरसिप प्रोग्रामप्रति नेपाल सरकार सकारात्मक रहेको बताउनुभएको थियो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।