काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठेरो अवस्थामा आइपुगेका छन् । एकातिर सर्वोच्चकै न्यायाधीशहरूले इजलास बहिष्कार गरेको र नेपाल बारले राजीनामा मागको अडान राखेकाले जबरा ठुलो संकटमा परेका छन् ।
त्यसमा पनि सरकारले नै प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि जबरालाई राजीनामा दिने कि पदमै बसिरहने भन्ने अप्ठेरो अवस्था आइलागेको छ ।
प्रधानन्यायाधीश जबराले बुधबारका लागि न्याय सेवा आयोगको बैठक बोलाएका थिए । तर, महान्यायाधिवक्ता खम्बराज खाती नआउने भएपछि प्रधानन्यायाधीश जबराले बुधबारका लागि बोलाएको न्यायसेवा आयोगको बैठक स्थगित भएको छ ।
आयोगका पदेन सदस्य सहभागी नहुने सूचनाका आधारमा बैठक स्थगन भएको हो ।कानुनमन्त्री दिलेन्द्रकुमार बडू, राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक वैद्यनाथ उपाध्याय, मुख्यसचिव शंकरदास बैरागीलाई पनि विशेष अतिथि बनाइएको छ ।
प्रधानन्यायाधीश जबराविरुद्ध सिंगो न्याय तथा कानुन क्षेत्र आन्दोलित रहेकाले नबोलाउने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीले बताए ।
जबराको नेतृत्वमा हुने कुनै पनि बैठकमा सहभागी नहुन नेपाल बार एसोसिएसनले अपिल गरेको छ । जबराका कारण न्यायालयमा विकृति बढेको भन्दै उनीविरुद्ध बारले दुई महिनादेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्चकै न्यायाधीशले समेत प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने भन्दै उनलाई राजीनामाका लागि दबाब दिएका छन् ।
गत वर्ष केपी ओली प्रधानमन्त्री हुँदा प्रधानन्यायाधीश जबराले संवैधानिक अंगको नियुक्तिमा उनलाई साथ दिएका थिए । त्यति मात्र होइन, संवैधानिक अंगका नियुक्तिमा जबराले पनि कोटा पाएको तथ्य सार्वजनिक भएको थियो ।
त्यही बेलादेखि जबरा विवादमा तानिएका हुन् । अहिले प्रधानन्यायाधीश जबरालाई साथ दिनेमा ओली र उनको पार्टी एमाले मात्र छ । एमालेले पनि आफ्नो सरकारले नियुक्ति गरेकालाई वर्तमान सरकारले हटाउने र सर्वोच्च अदालतले पनि त्यसलाई साथ दिने आशंकामा जबरालाई सहयोग गरिरहेको देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।