काठमाडौं – आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल ।
पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित संघीय सांसद, कुनै बेला समग्र सुदूरपश्चिममै उनको वाहवाही थियो । कुनै पनि निर्णयमा उनको समर्थन अनिवार्यजस्तै रहेको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा उनको पकड यति बलियो थियो कि कसैले चाहेर पनि तोड्न नसक्ने तर एमाले विभाजनपछि उनको शक्ति अब पहिलाको जस्तो रहेन । एमाले विभाजनपछि माधव नेपाल पक्ष छाडेर संस्थापन तर्फको राजनीति थालेका रावलको यही विन्दुबाट राजनीतिक क्षयीकरण सुरू भयो । कुरा र कामको तालमेल फरक हुँदा उनीसँग राजनीतिक सम्बन्ध तोड्न कस्सिए उनलाई साथ दिनेहरु ।
राष्ट्रिय राजनीतिमा समेत अब्बल ठहरिएका एमाले नेता रावलको शक्ति अहिले दिनप्रतिदिन क्षयीकरण बन्दै गएको छ । वर्षाैंदेखि आफूलाई साथ दिँदै आएका सहकर्मीबाट उनी अहिले टाढिएका छन् । उनी संलग्न दल एमाले अहिले सुदूरपश्चिम प्रदेशमा तेस्रो दल बन्न पुगेको छ । एमालेबाटै फुटेको नेकपा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बन्दा उनको राजनीतिक भविष्य नै चौपट हुने दिशामा अघि बढिरहेको छ ।
एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफूनिकट सांसदहरुलाई नयाँ पार्टी जानबाट रोक्न नसक्दा उनको कमजोर हविगत भएको छ ।
निर्वाचन आयोगले दल विभाजनपछि आफूले रोजेको दल छान्न जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समयसीमा तोकेको छ । सुदूरपश्चिममा हालसम्म १३ जना प्रदेश सांसदहरुले एकीकृत समाजवादी रोजिसकेका छन् । १३ जनाले समाजवादी छान्दा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र र एकीकृत समाजवादीको सांसद संख्या बराबर हुन्छ । कथंकदाचित आज सोमवार थप १ जनाले एमाले परित्याग गरेको अवस्थामा संघीय समाजवादी सुदूरपश्चिमकै सबैभन्दा ठूलो दल बन्नेछ । एमाले उपाध्यक्ष रावलको राजनीतिक जीवनमा योभन्दा नमज्जा अरू के नै हुन सक्छ र ?
त्यसो त आफ्ना सांसदहरू र अन्य जनप्रतिनिधि एकीकृत समाजवादीमा नजाउन् भनेर उनी सुदूरपश्चिम प्रदेशमा अड्डा नै जमाएर बसेका थिए । तर त्यसको केही अर्थ रहेन । विश्वस्त पात्रहरुले १/१ गरेर साथ छाड्दा उनको राजनीतिक जीवन नै धर्मराइरहेको छ ।
सुदूरपश्चिम प्रदेशबाट संघीय राजधानी काठमाडौं आइपुग्दा उनको राजनीतिमा थप क्षति पुगिसकेको हुनेछ ।
सुदूरपश्चिमका एमालेको तत्कालीन माधव नेपाल पक्षका १७ सांसदमध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि रावल कमजोर भएका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षका ७ सांसदसहित एमालेमा अहिले १२ सांसद रहेका छन् । ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
माधव पक्षनिकट भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, सांसदहरु तारा लामा तामाङ र प्रकाश रावलले आईतवार मात्र एकीकृत समाजवादीमा सनाखत गरेपछि एमाले तेस्रो दलमा खुम्चिएको हो । यसअघि भदौ १५ गते १० जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज, एमाले संसदीय दलका नेता प्रकाश शाह, हर्कबहादुर कुँवर ‘गोविन्द’, कृष्ण सुवेदी एमालेमै रहेका छन् ।
गृहजिल्ला अछाममै पनि उनले नराम्रो झड्का व्यहोर्नुपरेको छ । क्षेत्र नम्बर १ बाट संघीय संसदमा निर्वाचित रावल आफ्नै निर्वाचन क्षेत्रमा एक्लिएका छन् । उनकै निर्वाचन क्षेत्रका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मीना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले रावललाई छाडेर एकीकृत समाजवादीको यात्रामा लागेका छन् ।
अछामका ३ जना प्रदेश सांसदले रावलको साथ छोडेका छन् । सुदूरपश्चिम प्रदेश सभामा अछामबाट समानुपातिकसहित एमालेका ४ जना सांसद छन् । ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नम्बर १(१) मा एमालेबाट हर्कबहादुर कुँवर ‘गोविन्द’, निर्वाचन क्षेत्र नम्बर २(२) बाट बलबहादुर सोडारी विजयी भएका थिए । एमालेबाट विजयी सोडारी एकीकृत समाजवादीमा लागेका छन् । समानुपातिक सांसद दुर्गा कुमारी कामी र मीना कुमारी साउद एकीकृत समाजवादीमा गएका छन् ।
अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवरले समेत एमाले छाडेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।