आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीसामु भीम रावलको हारगुहार, केपी ओलीविरुद्ध यस्तो चुगली !

विद्या भण्डारीसामु भीम रावलको हारगुहार, केपी ओलीविरुद्ध यस्तो चुगली !

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०७८

  • 6.2K
    SHARES

  • विद्या भण्डारीसामु भीम रावलको हारगुहार, केपी ओलीविरुद्ध यस्तो चुगली !

    काठमाडौं – नेकपा एमाले भित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ ।

    एमाले उपाध्यक्ष भीम रावलले शनिवार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका छन् ।

    उनले राष्ट्रपति भण्डारीसँग करीब ३ घण्टा छलफल गरेका थिए ।

    स्रोतका अनुसार उपाध्यक्ष रावलले विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली नै बढी जिम्मेवार हुनुपर्नेमा कार्यदलबाट लगेको प्रस्ताव समेत अस्वीकार गर्ने परिस्थिति बनेको गुनासो गरेका छन् ।

    ‘पार्टी बचाउने जिम्मेवारी सबैको हो त्यसका लागि तपाईं (भण्डारी) ले मध्यस्थको भूमिका निर्वाह गर्नुस् । माधव नेपालको पनि प्रतिष्ठा कायम रहोस् । माधव नेपाल पार्टीबाहिर रहे कम्युनिस्ट आन्दोलनलाई घाटा हुन्छ,’ रावलको भनाई उदृत गर्दै उनी निकट एक नेताले भने ।

    ती नेताका अनुसार नेकपा एमाले टुक्रिए वाम आन्दोलन छिन्नभिन्न हुनेमा राष्ट्रपति भण्डारी र रावल सहमत भएका छन् । ‘कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा रहेको एमालेभित्र देखिएको विवादमा ओलीले हदैसम्म पेलेको सत्य हुँदाहुँदै माओवादी समेत एकीकरण भएपछि बनेको नेकपाले एमालेको विवादलाई थप उत्कर्षमा पुर्‍याएको विषयमा समेत चर्चा भएको थियो,’ स्रोतले भन्यो । 

    भेटमा राष्ट्रपति भण्डारीले समेत रावललाई पार्टी एकताकै पक्षमा निरन्तर प्रयास गर्न आग्रह गरेकी छन् । भण्डारीले आफूले पनि भूमिका निर्वाह गर्ने वचन दिएकी छन् ।

    राष्ट्रपति भण्डारीसँग भेटघाट गरेपछि रावल ओलीलाई भेट्न बालकोट पुगेका थिए । बालकोटमा उनले आईतवारको केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गरेका थिए ।

    ओली बैठक सार्न सहमत भए पनि अन्य विषयमा भने सहमत भएका थिएनन् । नेपाललाई आफू बराबरकै अधिकार दिने विषयमा ओली मौन रहेका छन् । ओली निकटका ईश्वर पोखरेलले यसअघि नै नेता नेपाललाई बराबरी अधिकार र दोस्रो अध्यक्ष स्वीकार गर्न नसकिने धारणा राखेका छन् ।

    नेता नेपालले दोस्रो अध्यक्षभन्दा अधिकारको विषयमा जोड दिएका छन् । राष्ट्रपति भण्डारीले दुबै पक्षलाई सहमतिमा आउने विन्दु पहिल्याउन रावललाई आग्रह गर्दै तत्काल विभाजनतिर जान नहुने राय दिएकी छन् । नेता रावलको सक्रियतापछि एमालेले आईतवार डाकेको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको भए पनि सोमवारलाई बोलाएको छ ।

    पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भए पनि बराबरी अधिकार दिन तयार नभएपछि एमालेको विवाद मिल्नेभन्दा पनि भत्कने चरणमा पुगेको थियो । ओलीले पार्टी कमिटीका बैठकहरु राखेर अधिवेशन गर्ने, महाधिवेशनका लागि बहस खुला गर्नेजस्ता निर्णय गरेकाले नेपाल पक्ष चिढिँदै गएको थियो । नेपाल पक्षको २ दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई नै पहिलो प्राथमिकतामा राखेको थियो ।

    पार्टी विभाजन भए सर्वनाश हुने, पार्टी एकता कायम रहे सबैको भलो हुने भन्दै सम्मानजनक एकता पक्षमा निर्णय गरिएको थियो ।  

    विवाद निरूपणका लागि बनेको कार्यदलले गरेको प्रस्तावलाई ओलीले अस्वीकार गर्ने मात्र नभई आफू पक्षधर नेताहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेललाई समेत अविश्वास गर्न थालेपछि विवाद निरूपण हुने सम्भावना निकै कमजोर बन्दै गएको थियो । नेपाल पक्षले पार्टीभित्रको विवाद नमिल्ने अवस्था आएमा समानान्तर कमिटी बनाउँदै जाने रणनीति अख्तियार गरेका छन् ।  

    नेता नेपाल स्वयंले पनि ओली विश्वास गर्न लायकका व्यक्ति होइनन्, तैपनि साथीहरूले कुराकानी गरिहरनुभएको छ भन्दै पार्टी विवाद मिलिहाले ठीकै छ नत्र समानान्तर कमिटी बनाउनुपर्ने धारणा राखेका छन् । सोही अनुसार देशभर नेपाल पक्षका नेता कार्यकर्तालाई समानान्तर कमिटीमार्फत संगठित गर्ने कार्यक्रम सुरू भइसकेको छ ।

    दुबै पक्षमा छलफल भने जारी नै छ । आईतवार ओली पक्षका नेताहरु नेम्वाङ, पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतले छलफल गरेका थिए । नेपाल पक्षका नेताहरु रावलसहित सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्त, गोकर्ण बिष्ट लगायतले छलफल गरेका थिए ।

    नेता नेपालले शुक्रवार नै पाण्डेलाई ३ दिनभित्र विवादबारे छिनोफानो गर्न निर्देशन दिएका छन् ।

    ओलीले पावर शेयरिङ अस्वीकार गरेपछि कार्यदलमा रहेका नेताहरु समेत उनीसँग चिढिएका छन् । ओली पक्षका विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, खगराज अधिकारी लगायतका नेता एकताका पक्षमा रहेका छन् । उनीहरु नेपाललाई अधिकार दिएर भए पनि तत्कालको समस्या समाधान गर्नुपर्ने, महाधिवेशनबाट सबै विषयमा छिनोफानो गर्नुपर्ने पक्षमा देखिएका छन् ।

    ‘विधिविधानमा नेपाललाई अधिकार दिने कुनै व्यवस्था छैन तर अहिलेको अवस्था भनेको आवश्यकता हो । यसलाई मनन् गर्नुपर्छ, पार्टी जोगाउनुपर्छ । हाललाई पावर शेयरिङ गर्ने, अहिलेको अवस्थालाई तदर्थ समय मान्ने कुरा उठाइएको हो तर ओलीले मानेका छैनन्,’ कार्यदलमा रहेका एक नेताले भने ।

    ओलीले एकतातर्फ पहलभन्दा पनि केन्द्रीय कमिटीको बैठक बोलाउने, तल्लो तहसम्म पार्टी कमिटीको अधिवेशन गराउने, विधान अधिवेशन गराउनेजस्ता सांगठनिक गतिविधि अघि बढाएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर ६ २०७७०८:५७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend