सोमवार, फाल्गुण २४ २०७७Mar 08 2021

Logo
images
images
images
images

सर्वाेच्च अदालतमा भएको त्यो रहस्यमय भेट, राजनीति र सुरक्षा क्षेत्रमा तरङ्ग

सर्वाेच्च अदालतमा भएको त्यो रहस्यमय भेट, राजनीति र सुरक्षा क्षेत्रमा तरङ्ग

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 696
    SHARES

  • सर्वाेच्च अदालतमा भएको त्यो रहस्यमय भेट, राजनीति र सुरक्षा क्षेत्रमा तरङ्ग

    काठमाडौं – कुटनीति र सुरक्षा क्षेत्रमा ‘टाइमिङ’ र ‘स्पेस’को महत्व कति हुन्छ, यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन ।

    नेपाली सेनामा त यसबारे पढाउने र सिकाउने समेत गरिन्छ । तैपनि सेनापति थापाले सोमवार दिउँसो यस विषयलाई खासै मतलब राख्न चाहेनन्, जसलाई लिएर सार्वजनिक वृत्तमा चर्चा सुरू भएको छ ।

    images
    images

    सोमवार दिउँसो करीब सवा १ बजे थापा जंगीअड्डाबाट निस्केर नजिकै रहेको सर्वोच्च अदालतमा पुगी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग करीब १ घण्टा भेटवार्ता गरेका छन् । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमाथि प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा निर्णय लिनुपर्ने निर्णायक दबाब परिरहेका बेला सेनापति अन्य कारण देखाउँदै अदालतभित्र छिरेका छन् ।

    नेपाली सेनाका बहालवाला एवं पूर्व अधिकारीहरूका अनुसार यस्तो दृश्य यसअघि कहिल्यै देखिएको थिएन । ‘मैले सेनामा ३० वर्ष काम गरें, अहिलेसम्म यस्तो घटना कहिले पनि देखेको थिइनँ,’ एक सैनिक पदाधिकारीले भने । सर्वोच्च अदालतका पूर्व न्यायाधीश, पूर्व रक्षामन्त्री, सुरक्षाविद् लगायतले त्यसलाई ‘संवेदनशील समयको रहस्यमय एवं अर्थपूर्ण भेट’को संज्ञा दिएका छन् ।

    सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस फागुन ७ गते सकिएपछि अब केही दिनमै त्यससम्बन्धी फैसला सुनाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले फैसला आफ्नो प्रतिकुल आएमा अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने सार्वजनिक घोषणा समेत गरेका छन् ।

    पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान यस्तो समयमा प्रधानसेनापतिले यसरी यात्रा गर्दा विचार गर्नुपर्ने मान्छन् । ‘अहिले सन्दर्भ कस्तो छ भने मुद्दा विचाराधीन छ । यस्तो अवस्थामा मान्छेमा शंका उब्जने नै भयो,’ प्रधानले भने, ‘प्रधानसेनापति आफैंले पनि यो कुराको विचार गर्नुपर्ने हो । कतैबाट निर्देशित भएर गएको भए त त्यो झनै खराब हो ।’

    स्वतन्त्र देशको सार्वभौमसत्ताको रक्षकको भूमिकामा रहेको, गौरवमय इतिहास बोकेको सेना यस किसिमको राजनीतिक विवादबाट टाढै बस्नुपर्ने पूर्व रक्षामन्त्री प्रधानले सुझाव दिएका छन् ।

    सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले अहिलेको संवेदनशील घडीमा यस किसिमको भेट उचित नरहेको बताएका छन् ।

    ‘यस्तो महत्वपूर्ण मुद्दाको फैसला गर्ने बेलामा सुरक्षा निकायका प्रमुख र न्यायालयका प्रमुखबीच अन्य नियमित कार्यक्रममा बाहेक भेट हुने गरेको छैन,’ पूर्व न्यायाधीश केसीले भने, ‘सुरक्षा फौजका कमान्डरले यस्तो संवेदनशील घडीमा भेट्नु राम्रो पनि हुँदैन । यसले अनावश्यक शंका जन्माएको छ ।’

    यसबारे दुबै पक्षले विज्ञप्ति निकालेर स्पष्ट पार्नुपर्ने उनको धारणा छ ।

    यद्यपि सर्वोच्च अदालतका न्यायाधीशहरू कुनै पनि किसिमको बाह्य दबाबबाट प्रभावित र प्रेरित भने नहुने केसीले बताए । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओली आईतबार सैनिक मुख्यालय गएका थिए । त्यहाँ राष्ट्रिय सेवा दलद्वारा आयोजित ‘स्वयंसेवक भूमिकामा एनसीसी क्याडेट्स’ विषयक सेमिनारमा उनी प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

    कार्यक्रममा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट हुँदा राजनीतिक विषयमा कुराकानी भए/नभएको स्पष्ट छैन । तर प्रधानमन्त्री ओलीलाई भेटेकै भोलिपल्ट प्रधानसेनापति थापा सर्वोच्च अदालत पुग्नुलाई सुरक्षाविद्हरुले पनि अर्थपूर्ण रूपमा लिएका छन् ।

    सुरक्षाविद् गेजा शर्मा वाग्ले प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वोच्च अदालत परिसरभित्र यस्तो भेटवार्ता हुनुलाई ‘रहस्यमय र अर्थपूर्ण’ मान्छन् । ‘समकालीन राजनीतिमा सर्वाधिक चासोको विषय बनेको प्रतिनिधिसभाको विघटन र यसबारे संवैधानिक इजलासले फैसला गर्ने मितिको पूर्व सन्ध्यामा प्रधानन्यायाधीश र सेनापतिबीचको भेटवार्ताले मनोवैज्ञानिक रूपमा अर्थपूर्ण सन्देश प्रवाह गरेको छ ।’

    नेपाली सेनाले भने अदालतले लिएको जग्गासम्बन्धी एक मामिलामा छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च गएको उल्लेख गरेको छ । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सर्वोच्च अदालतपछाडि सेनाको क्याबलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी भएको तर खाली नभएकोबारे छलफल गर्न उक्त भेट भएको छ ।

    सर्वोच्च अदालत परिसर साँघुरो भएपछि सरकारले सिंहदरबार क्षेत्रको दक्षिण–पश्चिममा रहेको सेनाको क्याबलरी (घोडचढी फौज) रहेको जग्गा अदालतलाई दिइसकेको छ । उक्त प्रक्रियाको सुरूआत तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङको पालामा भएको थियो ।

    सैनिक स्रोतका अनुसार गुरुङपछि प्रधानसेनापति भएका गौरवशमशेर राणाको कार्यकालमा उक्त जग्गा हस्तान्तरण गरिएको थियो र क्याबलरीलाई नारायणहिटी परिसरमा सारिएको थियो । त्यसपछिका प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा जग्गा हस्तान्तरणसम्बन्धी बाँकी रहेको सम्पूर्ण कार्य सकिएको थियो । ५ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उक्त जग्गामा नयाँ भवन निर्माण गर्न आवश्यक पहल अघि बढाएर अवकाश समेत पाइसकेका छन् ।

    अहिले आएर त्यही जग्गा हस्तान्तरण गर्न भनेर प्रधानसेनापति थापाले प्रधानन्यायाधीश राणालाई भेटेका हुन् । सैन्य मामिलाका एक जानकार सर्वोच्च अदालतको नाममा नामसारी भइसकेको जग्गालाई हस्तान्तरण गर्न प्रधानसेनापति थापा सर्वोच्च अदालतमै पुग्नुलाई अचम्म मान्छन् ।

    ‘गौरवशमशेर राणाको पालामा मन्त्रिपरिषद्को निर्णय भएपछि स्वतः उक्त जग्गा सर्वोच्च अदालतको भइहाल्यो । अहिले फेरि आफैं उपस्थित भएर जग्गा दिनुपर्ने आवश्यकता कसरी भयो ?’ ती सुरक्षाविद्ले भने ।

    पूर्व सभामुख दमननाथ ढुंगानाले दुबै जना (प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापा) राष्ट्रको उच्च संस्थाका सर्वोच्च पदाधिकारी रहेको उल्लेख गर्दै भने, ‘उहाँहरुले आफ्नो संविधानप्रतिको बफादारितालाई ख्याल राखेरै भेट्नुभएको होला । यस्तो भेटले जनतामा कस्तो प्रभाव पार्छ होला भन्नेबारे पनि उहाँहरूले यथेष्ट विचार गरेरै भेट्नुभएको होला ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology