काठमाडौं- बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमणदेखिएसँगै उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।
ट्वीटमार्फत् अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिँदै पछिल्ला १० दिनमा आफ्नो सम्पर्कमा आएकाहरुलाई समेत परीक्षण गर्न आग्रह गरेका छन् ।
उनले ट्विटरमा भनेका छन्, 'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ, पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।'
उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको छ। अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार उनले आफूहरू दुवै जना अस्पताल भर्ना भएको पनि बताएका छन्।
उनले ट्वीट गर्दै भनेका छन्, 'मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।'
अहिले अमिताभ र अभिषेककाे अवस्था सामान्य रहेकाे बताइएकाे छ । ७७ वर्षीय अभिनेता अमिताभ बच्चन र उनका छोरा अस्पताल भर्ना भए बलिउप्रेमी देखि भारतीय प्रधानमन्त्री मोदीले समेत उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।