काठमाडौं – पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमाकुमारी अर्याललाई बेस्सरी हप्काएका छन् ।
मन्त्री अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा नरहेको भनेर अनावश्यक अभिव्यक्ति दिएको नेता नेपालले बताएका छन् ।
नेता नेपालले मन्त्री अर्याललाई जथाभावी नबोल्न सचेत गराउँदै तत्काल माफी माग्न समेत सुझाव दिए । सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भने, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भू–भाग भएको नक्सा प्रकाशन गर्नुपर्यो ।’
नेता नेपालले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गरेका छन् । नेता नेपालले आवश्यक परे सीमानामा काँडेतार लगाउन समेत जोड दिएका छन् ।
‘भारतसँग सधैंभरि विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नुभएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के–के सामग्री चाहिन्छ त्यो पनि व्यवस्था गर्नुपर्यो,’ नेता नेपालले भने ।
नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनका त्रासका बिच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको बताएका छन् ।
भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकाले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने उनको तर्क छ । नेता नेपालले सानो छिमेकी देशप्रति भारतको दृष्टिकोण नै ठीक छैन कि भन्ने देखिएको भन्दै भारतले गरेको सीमा अतिक्रमणले नेपाल–भारतबीच भएको सम्झौता उल्लंघन भएको बताएका छन् ।
‘भारतले नेपाली भूमिमा सडक बनाउने कामले नेपाली स्वाधीनतामाथि प्रहार भएको छ । तथ्यको आधारमा विवादबारे बसेर छलफल गर्न सकिन्छ । विवादित ठाउँमा भारतले किन विवादित काम गर्नुपर्यो । नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म पर्दछ । त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरू छन् । हामीसँग थुप्रै नक्सा र दस्तावेजहरू छन् । यस्ता तथ्य प्रमाणले नेपालको सीमाना कालीनदी र त्यसको उद्गम लिम्पियाधुरा हो । नेपालले त्यो भूमिमा दावा छोडेको छैन । भारतको कदमले मित्रराष्ट्रबीच अविश्वास बढाएको छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।