काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराईले आफूलाई जिताउने गोरखाली जनतासँग महिनामा एकपटक भेटघाट गर्ने कार्यक्रम स्थगित गरेका छन् । नेता भट्टराई कोराना संक्रमणका कारण सामाजिक दूरी कायम राख्नुपर्ने भएकोले भेटघाट कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा प्रत्येक महिना कम्तिमा एक पटक गृहजिल्ला गोरखा पुग्ने वाचा गरेका थिए । तर यो पटक भने कोरोना महामारीका कारण जिल्ला पुग्न नपाएकोमा दुःख व्यक्त गर्दै उनले गोरखाली जनतासमक्ष क्षमायाचना गरेका छन् । उनले लकडाउन सकिने बित्तिक्कै जिल्ला आउने प्रतिबद्धता समेत जनाएका छन् । नेता भट्टराईले बैशाख २६ गतेबाट सुरू हुने बजेट अधिवेशनमा आफ्नो निर्वाचन क्षेत्रका विषयवस्तु उठान गर्ने भएकाले त्यसका लागि सुझाव पठाउन समेत आग्रह गरेका छन् । उनले त्यसका लागि आफ्नो इमेल ठेगाना र फोन नम्बर पनि उपलब्ध गराएका छन् । गोरखाली दिदीबहिनी दाज्यूभाइहरूसंग विनम्र अनुरोध: १. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एक पटक गृह जिल्ला/ निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ! परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदु:खका कुरा गर्न नपाएकोमा अत्यन्त दु:खित र क्षमाप्रार्थी छु। यो मैले नचाहेर हैन परन्तु कोरोनाबाट बच्ने अहिलेसम्मको एक मात्र सुरक्षित उपाय मानिस मानिस वीचमा निम्नतम तीन फिट दूरी कायम गर्ने र अनावश्यक भेटघाट/भीड़भाड़ नगर्ने भन्ने भएकाले तपाईंहरूको निर्वाचित प्रतिनिधिले त्यो अनुशासन र जिम्मेवारी पालन गर्नुपर्दछ भनेर नै हो! यसलाई यहाँरूले यही ढंगले बुझिदिनुहुनेछ भन्ने आग्रह गर्दछु र लकडाउन खुल्ने वित्तिकै यहाँहरू समक्ष उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।