काठमाडौं – पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्थायी कमिटी बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ । दुई अध्यक्षबीच २ दिनयता छलफल भएपनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमवार र मंगलवार भएको छलफलमा शक्ति बाँडफाँडलगायत मुद्दामा सहमति नभएको हो । स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन । दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमवार प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो । तर उनीहरुबीच मंगलवार छलफलै भएन । उनीहरूले एजेन्डा बुँदागत रुपमा तयार पार्ने जनाइएको छ । प्रचण्डले आफ्नो तर्फबाट खेस्रा कोर्ने काम सुरू गरेको उनको निजी सचिवालयले जनाएको छ । नेकपाले सचिवालय बैठक आज बुधबार र स्थायी समिति बैठक भोलि बिहीबारका लागि बोलाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मंगलवार बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनालसँग झण्डै १ घण्टा कुराकानी गरे । ओलीले खनालसँग कात्तिकयता एक्लाएक्लै छलफल गरेको यही पहिलो हो । प्रचण्डसँगको छलफलपछि बालुवाटार पुगेका खनालले प्रधानमन्त्री चिन्तित देखिएको बताए । ‘प्रधानमन्त्री अलिक चिन्तित र तनावयुक्त मुडमा हुनुहुन्थ्यो । मैले उहाँ (प्रधानमन्त्री) लाई पार्टीलाई सम्मान गर्नुपर्छ । पार्टी सर्वाेपरि संस्था हो । पार्टीकै कारणले हामी सबै विभिन्न पोजिसनमा छौं । तपाईं प्रधानमन्त्री भएकै पनि पार्टीकै कारण हो । पार्टीका नीति र निर्णयहरू, पार्टीका विधिहरूलाई सम्मान गर्नुपर्छ । त्यसलाई लागू गर्नुपर्छ । दृढतापूर्वक पार्टीको पक्षमा उभिनुपर्छ । त्यहाँभन्दा अर्काे विकल्प छैन । मेरो हार्दिक सल्लाह पनि तपाईंलाई त्यही छ भनेर आफ्ना कुरा राखें,’ खनालले प्रधानमन्त्री ओलीसँगको भेटबारे भने, ‘उहाँ चिन्तित भएको पाएँ ।’ ओलीले भने आफूविरुद्ध भएका घेराबन्दीदेखि पारिएका असहजताका विषयमा छलफल केन्द्रित गरेका थिए । ‘आफूलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा उहाँ (प्रधानमन्त्री) अलिक उद्धेलित हुनुहुन्थ्यो,’ उनले ओलीसँगको संवादबारे थप खुलस्त पार्दै भने, ‘तर मैले यसरी उत्तेजनामा आउनुहुँदैन संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेको छु ।’ ओली संगठनात्मक एकताका क्रममा नेताहरूले पाएको दोहोरो जिम्मेवारी खुम्चाउन लचक देखिएका छैनन् । उनी स्थायी समिति बैठक सरकारको नीति तथा कार्यक्रम, बजेट तयारी र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका विषयमा मात्र केन्द्रित गरेर छोटो अवधिका लागि मात्र आयोजना गर्नुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड–नेपाल पक्षका नेता भने शीर्ष नेताहरुले मुख थुन्न नपाउने, सरकारका कामदेखि अध्यादेश प्रकरण र त्यसपछिका परिघटनासम्ममा खुलस्त छलफल गर्न पाउनुपर्ने पक्षमा देखिएका छन् । एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषयमा पहिलेका संगठनात्मक कमजोरी सच्याउनुपर्ने पक्षमा उभिन थालेपछि प्रधानमन्त्री ओली प्रचण्ड–नेपाल पक्षको रणनीतिप्रति सशंकित देखिन थालेका छन् । प्रधानमन्त्री ओलीदेखि पार्टीका नेताहरुसम्मले आत्मालोचनासहित कमजोरी सच्याउने प्रतिबद्धता जनाएर विवाद मिलिसकेको अवस्थामा स्थायी समितिमा त्यही विषयमा थप छलफल आवश्यक नरहेको ओलीनिकट नेता बताउँछन् । ‘संसद् डाकिएको छ । बजेटको बेला छ । त्यसमै केन्द्रित भएर छलफल गर्नुपर्छ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने, ‘पार्टीका आन्तरिक मामिलाका विषय क्रमशः छलफल चलाएर छिमोल्दै जाने हो । अहिले आन्तरिक समस्यामा छलफल आवश्यक छैन ।’ विवाद एउटा निष्कर्षमा पुगेर मिलेको बताएका नेता नै फेरि सचिवालयको भावनाबाट पछि हट्न थालेको आशंका कतिपय नेताले गर्न थालेका छन् । यसमा कतिपयले खेल्न खोजेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलवार पार्टीमा रडाको मच्चाउन फेरि को लाग्दैछ भन्दै सचेत हुन आग्रह गरेका छन् । ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झूटा भ्रमात्मक समाचार प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । बैशाख २० गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं । अन्यथा नगरौं,’ उनले ट्विटरमा लेखेका छन् । एजेन्डाबारे सचिवालयमा सहमति नजुटे ओली पक्ष स्थायी समिति बैठक केही समय पछि धकेल्ने पक्षमा देखिएको छ । ‘उहाँहरू (प्रचण्ड–नेपाल समूह)ले स्थायी समितिमा समग्र विषयमा समय लिएरै छलफल गर्न चाहनुभयो भने बरु थप २–४ पटक सचिवालय बसेर गृहकार्य गर्न सकिन्छ । त्यस्तो बेला स्थायी समिति सार्नुपर्ने हुन पनि सक्छ । त्यो आज बुधवारको सचिवालयमा विषय कसरी प्रस्तुत हुन्छन्, त्यसले निर्धारण हुन्छ,’ ओली पक्षका अर्का एक स्थायी समिति सदस्यले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।