काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आगामी बैशाख २५ गतेसम्म घोषणा गरिएको लकडाउन लम्बिने बताएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकका निर्णय सुनाउँदै सचिव बिडारीले लकडाउन निरन्तर अघि जाने बताए ।
लकडाउन कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा बिडारीले बाँकी निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने बताएका छन् । ‘कोभिड १९ संक्रमणलाई रोक्ने र शून्यमा झार्नेतर्फ सबै प्रयासहरु जारी राख्ने र हाम्रो मुलुकभित्र कसैलाई पनि मृत्युवरण गर्नुपर्ने स्थिति नआओस् भनेर अझ प्रभावकारी रूपमा काम गर्ने विषयमा छलफल भयो,’ बिडारीले भने ।
बैशाख २५ गतेपछि लकडाउन निरन्तर हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा बिडारीले भने, ‘यो अझै कन्टिन्यु हुन्छ ।’ सचिव बिडारीले कोरोना रोकथामका लागि सरकारले गरेका हालसम्मका प्रयासहरू सही दिशातर्फ उन्मुख भएको बताएका छन् ।
‘मन्त्रिपरिषदको बैठकमा थप सल्लाह हुनेछन् तर अहिले जे जसरी सरकारले नीति अख्तियार गरेको छ, सही बाटो छ भन्ने हाम्रो निष्कर्ष रह्यो,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।