काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवादका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पासा पल्टाएका छन् ।
बुधबारको सचिवालय बैठकमा अल्पमतमा पर्दै सबैतिरबाट प्रहार भएपछि ओलीले शनिबारको बैठकसम्म पुग्दा पासा पल्टाएर बहुमत पुर्याएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको योजना ‘फेल’ हुने देखिएको छ ।
जारी सचिवालय बैठकमा ओलीले प्रचण्डको कुर्सी आफूसँगै राख्न लगाएका छन् । यसअघि ओलीले एक्लै कुर्सी छुट्टै राख्ने गरेका थिए ।
सचिवालय बैठकअघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । त्यसअघि ओलीले अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका थिए । ओलीलाई प्रधानमन्त्रीबाट हटाउने माग भइरहेका बेला ओलीले शनिबार एकाएक सक्रियता बढाएर पासा पल्टाइसकेको स्रोतले जनाएको छ ।
जारी सचिवालय बैठकबाट अनपेक्षित निर्णय आउनसक्ने चर्चा राजनीतिक बजारमा चलेको छ । ओलीले उपाध्यक्ष गौतम, महासचिव पौडेल, गृहमन्त्री बादलसँगको छलफलपछि प्रधानमन्त्री र पार्टी अध्यक्षमा कायमै रहने सुनिश्चित गर्न सफल भएका स्रोतको दाबी छ ।
अघिल्लो सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई भाबी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बोलाइएको थियो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कार्यान्वयनको योजना शनिवारको बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर शनिबारको ओलीको भेटवार्ताले भैंसेपाटी समीकरण तोडिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सचिवालय बैठकमा ओलीको पक्षमा उपाध्यक्ष बामदेव गौतम, ईश्वर पोखरेल, बादल, विष्णु पौडेल उभिने भएका छन् । सचिवालयमा प्रचण्ड, नेपाल, खनाल र नारायणकाजी अल्पमतमा पर्ने भएका स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।