काठमाडौं – प्रधानमन्त्रीको कुर्सी जोगाउन हस्ताक्षर अभियान सञ्चालन गरेका केपी शर्मा ओलीलाई अर्काे झड्का लागेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा बहुमत पुर्याएर पद जोगाउने अभियानमा लागेका ओलीले पूर्व माओवादी समूहका सांसदबाट धोका दिएका छन् ।
केही दिनअघि बालुवाटारमै पुगेर ओलीको समर्थनमा बोलेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हस्ताक्षर अभियानमा सहभागी नहुने अडान लिएपछि ओलीलाई धोका भएको हो । मन्त्री भट्टसँगै पूर्व माओवादी समूहबाट ओलीतिर ढल्किएका सबै फेरि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिरै आएका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत ओली नजिक रहेको चर्चा चलेपनि बादलले समेत बालुवाटारमा गएर हस्ताक्षर नगरेको स्रोतले जनाएको छ । बुधबार बिहान अध्यक्ष प्रचण्डले मन्त्री थापा र भट्टलाई खुमलटारमा बोलाएर छलफल गरेका छन् । त्यसपछि ओलीको योजनामा ग्रहण लागेको स्रोतको दाबी छ । पूर्व माओवादी समूह र माधव नेपाल समूहका सांसद ओलीतिर नलाग्ने भएपछि ओली संसदीय दलमा बहुमत पुर्याउन असफल भएका दाबी गरिएको छ ।
ओलीको हस्ताक्षर अभियानमा सांसदहरू महेश बस्नेत, विजय सुब्बा, किसान श्रेष्ठ र नवराज सिलवाल सक्रिय रहेका छन् । साँझ बस्ने सचिवालय बैठकअघि नै ओलीको पक्षमा बहुमत पुर्याएर देखाउने रणनीति भएपनि समस्या परेको नेकपा स्रोतले जनाएको छ । नेकपाका १७५ सांसदमध्ये ६७ सांसद मात्रै ओलीको पक्षमा छन् । बहुमत पुर्याउन थप १० सांसद चाहिने भएपनि अर्काे पक्षबाट सहयोग नपाइने देखेपछि बालुवाटारमा तनाव उत्पन्न भएको जनाइएको छ ।
मन्त्री भट्टले आफू पार्टी एकताको पक्षमा रहेको र हस्ताक्षर अभियान चलाउँदा फुट निम्तिनसक्ने तर्क गर्दै ओलीलाई धोका दिएका छन् । ओलीले हस्ताक्षर अभियान चलाएर एकता भाँड्न खोजे आफू प्रचण्डको पक्षमा उभिने अडान भट्टले लिएको स्रोतले जनाएको छ ।
ओलीको हस्ताक्षर अभियानपछि प्रचण्ड र माधवकुमार नेपाल समूहका सांसदले समेत हस्ताक्षर अभियान चलाएका छन् । सचिवालय बैठकमा ओलीलाई राजीनामा दिन सुझाव दिने र नमाने स्थायी कमिटी बैठक बोलाएर कारवाही गराउने तयारी प्रचण्ड–नेपाल समूहको छ । ओलीले पार्टी सुझाव नमानेर मनपरी गर्दै गए पूर्व माओवादीका मन्त्रीहरू रामबहादुर थापा, लेखराज भट्ट, बिना मगर, रामेश्वर राय यादव, वर्षमान पुन र शक्ति बहादुर बस्नेतले राजीनामा दिनसक्ने चर्चा समेत नेकपा वृत्तमा छ ।
माधव नेपाल निकट मन्त्री घनश्याम भुसाल र यागेश भट्टराईले पनि राजीनामा दिनसक्ने चर्चापछि बालुवाटारमा तनाव भएको नेकपा स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।