काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १५ गतेसम्म जारी लकडाउनलाई लम्ब्याउने तयारी सरकारले भित्रभित्रै सुरू गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे सुझाव दिन कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देश गरेको थियो ।
मन्त्रिपरिषद्को निर्देश अनुसार शनिबार बसेको समितिको बैठकले लकडाउन थप १ साता बढाउनुपर्ने सुझाव दिएको छ । समितिको सुझावका आधारमा आगामी मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय भएर सार्वजनिक गरिने भएको छ ।
समितिले लकडाउन प्रभावकारी भएका कारण कोरोना नियन्त्रण प्रयास सही ट्रयाकमा रहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत छलफल भएको छ ।
समितिको राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । समितिले प्रधानमन्त्री ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पबारे जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले भने भारतमा संक्रमण नियन्त्रण नभएसम्म नेपालमा लकडाउन जारी रहने दाबी गर्दै आएका छन् । भारतमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।