काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कर्तुतविरुद्ध योजना बनाउन केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले वैशाख १७ गते बुधवार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको जनाएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन भनिएको छ । सरकारले वैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी २ वटा अध्यादेश जारी गरेपछि त्यसविरुद्ध आन्दोलनको रणनीति बनाउन बैठक बोलाएको हो ।
मंगलवार कांग्रेस पदाधिकारी बैठकले सरकारको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । बुधवार कांग्रेसका ११ केन्द्रीय सदस्यले शासन सञ्चालनको वैधता सरकारले गुमाइसकेको ठहर गर्दै आन्दोलनबारे ठोस निर्णय लिन अलिवम्ब केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छन् । कांग्रेस ओली सरकारका कर्तुतविरुद्ध तातेर सक्रिय भएको छ ।
बुधवार दिउँसो कांग्रेसको अग्रसरतामा बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारलाई दुवै अध्यादेश फिर्ता लिई तत्काल संसद् बैठक बोलाउन माग गरेका थिए ।
सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेता विना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।