काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर देशको चुनौती सामना गर्न सरकारलाई सघाइरहेको जनाएका छन् ।
नयाँ वर्ष विक्रम संवत् २०७७ सालका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सभापति देउवाले सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको जनाएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको देउवाले बताए ।
पूर्व प्रधानमन्त्री देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति संक्रमित तथा १ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको दुःखदायी घटना विश्वले व्यहोर्नुपरेको बताए ।
‘कोरोनाको संक्रमणका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजेटिभ देखिएको घटना हाम्रो सामु विद्यमान छ,’ उनले भने ।
सभापति देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकामा जोड दिँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न र गराउन सबैमा आग्रह गरे । उनले नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।