नयाँदिल्ली – भारतको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका यतिधेरै सदस्यमा संक्रमण देखिएको पहिलो घटना हो ।
नेपाली परिवारका ११ सदस्यमध्ये ८ जनामा ११ दिनयता कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारका २ दाजुभाइ, उनीहरुका श्रीमतीहरु र ४ जना छोराछोरीमा संक्रमण देखिएको परिवारका सदस्यले जनाएका छन् ।
‘भाइलाई अस्पताल लैजाने र ल्याउने गरेकाले शंका लागेर परीक्षण गराउँदा ममा पनि संक्रमण देखियो,’ परिवारका एक सदस्यले भने ।
पूरै परिवार एउटै घरमा बस्ने भएकाले अन्य सदस्यको त्यसपछि परीक्षण गराइएको थियो । नभन्दै अन्य ६ जनामा पनि संक्रमण देखियो । ‘परिवारका ३ जनामा मात्र रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।
यसअघि दक्षिण भारतको बैंग्लुरु बस्दै आएका एक नेपाली दम्पतीमा पनि संक्रमण देखिएको थियो । नेपालको सुदूरपश्चिम बझाङ घर भएका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । महिला भारतीय परिवारमा घरेलु कामदार थिइन् । त्यस परिवारकी एक महिला गत १२ मार्चमा लन्डनबाट आएकी थिइन् ।
यस्तै, दिल्लीको इस्लामिक भेलामा सहभागी भएका २ नेपालीमा पनि कोरोना देखिएको थियो । भेलामा सहभागी भएर हरियाणाको अम्बाला र उत्तर प्रदेशको बागवात जिल्लाको खेखडा पुगेका ती नेपालीमा संक्रमण देखिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।