काठमाडौं – राजधानी काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेलाई सरकारले पठाउने भनेर दिउँसो चलेको हल्लाबारे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुख खोलेका छन् ।
बिहीवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री पोखरेलले लकडाउनका बेला यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले काठमाडौं बाहिर जान चाहनेलाई बसको व्यवस्था गर्ने तथा भोलि र पर्सी जान दिने समाचार सञ्चारमाध्यममा आएका थिए ।
मन्त्री पोखरेलले साँझ आधिकारिक धारणा सार्वजनिक गर्दै त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
यस्तो छ मन्त्री पोखरेलले आधिकारिक धारणा –
‘भोलि र पर्सी (२८–२९ चैत्र २०७६) काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको’ भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यमहरू खासगरी सामाजिक सञ्जालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को गम्भीर ध्यानाकर्षण भएको छ ।
यस किसिमको कुनै निर्णय नभएको, कोभिड–१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसूस गरी ‘बन्दाबन्दी’ (लकडाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।