काठमाडौं – नेपाली कांग्रेसका नेता एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सीमानाकामा अलपत्र नेपालीलाई नरोक्न सरकारलाई आग्रह गरेका छन् ।
उनले मुलुकका विभिन्न सीमावर्ती क्षेत्रमा नेपालीहरू केही दिनदेखि अलपत्र परेको उल्लेख गर्दै स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई क्वारेन्टाइन बस्ने शर्तमा नेपाल प्रवेश गर्न दिन सरकारसँग आग्रह गरेका हुन् ।
बुधवार एक अपिल जारी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता श्रेष्ठले लकडाउनको अवधिमा जो जहाँ छन्, त्यही नै रहने प्रबन्ध गर्नुपर्ने भएपनि सिमानामा आएर नेपाल प्रवेशका लागि हारगुहार गरिरहेकाहरूलाई रोक्न नहुनेमा जोड दिए ।
‘यस जटिल परिवेशमा सरकारले आफ्ना नागरिकहरूप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै सीमानामा अलपत्र नागरिकहरूको पहिचान गरेर, उनीहरूको स्वास्थ्य परीक्षण, उचित सुरक्षा र क्वारेन्टाइनमा बस्ने पूर्व शर्तमा नेपालमा ल्याउने व्यवस्था गर्न अपरिहार्य देखिन्छ,’ उनले भने, ‘अपमानित ढंगबाट नेपाली नागरिकहरूलाई विदेशी भूमिमा अलपत्र छाड्नु कदापि हुँदैन ।’
भारतमा कार्यरत नेपालीहरू दार्चुलाको सीमावर्ती क्षेत्र धार्चुला, महाकाली किनार हुँदै कञ्चनपुर, कैलाली, नेपालगन्ज र सुनौली लगायत विभिन्न नाकामा नेपाल प्रवेशका लागि आग्रह गरिरहेका छन् ।
नेता श्रेष्ठले लकडाउनका कारण भारतका विभिन्न राज्यमा ठूलो संख्यामा नेपाली अलपत्र परेको उल्लेख गर्दै भारतसँग नेपाली दूतावास र जनसम्पर्क समितिहरूमार्फत उनीहरूको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘भारतका विभिन्न स्थानहरूमा रहेका नेपालीहरूलाई विद्यमान अवस्थामा यथास्थानमा नै सुरक्षित रुपमा राख्नका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्दछु,’ उनले भने ।
उनले मुलुकभित्रै विभिन्न स्थानमा अलपत्र परेका नेपाली नागरिकहरूलाई निर्धारित स्थानसम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरूद्वारा वितरित पासमा राजनीति नगर्न पनि आग्रह गरेका छन् । उनले राजनैतिक आस्था, व्यक्तिगत प्रतिष्ठा र नातावाद र कृपावादका आधारमा पूर्वाग्रही भएर पास नदिईसमेत आग्रह गरे ।
‘राजनीति गर्नका लागि अन्य प्रशस्त आधारहरू छन् । यस संकटको घडीमा मानवीय धर्म र आफ्नो दायित्वलाई बिर्सेर नेपाल सरकार गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू कुनै पनि नागरिकहरूलाई विभेद गर्ने काम नगर्न र नगराउनका लागि म सचेत गराउन चाहन्छु,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।