काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि मनकारी कदम चालेका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’लाई शाहले २ करोड रुपैयाँ दान गरेका छन् ।
पूर्वराजा शाहले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर हिमानी कोषमार्फत सरकारी कोषमा २ करोड दिने घोषणा गरेका छन् । ‘दुःख, कष्ट र आपतविपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रु. २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौं,’ उनले भने, ‘यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।’
‘राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन अनुरोध गर्दछौं,’ पूर्वराजा शाहले भने ।
उनले देश र जनतामा कोरोना भाइरसको संक्रमणको महामारीले भय र सन्त्रास पैदा गराएको भन्दै मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै सबैले आ–आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भइसकेको बताएका छन् ।
‘यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं,’ पूर्वराजा शाहले भने, ‘यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’
‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौं,’ पूर्वराजा शाहले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।